काभा महिला भलिबल : नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी इरान

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार आफ्नो समूहको अन्तिम खेलमा इरानले काजकिस्तानलाई हराएर समूह ‘बी’ विजेता बनेको थियो ।

जेष्ठ ११, २०८३

ध्रुव तुलाधर

Kava Women's Volleyball: Iran is Nepal's semi-final opponent

What you should know

काठमाडौँ — घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानलाई प्रतिद्वन्द्वी पाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार आफ्नो समूहको अन्तिम खेलमा इरानले काजकिस्तानलाई हराएर समूह ‘बी’ विजेता बनेको थियो । दुवै अन्तिम चारमा प्रवेश गरिसकेको अवस्थामा इरानले प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानमाथि सोझो सेटमै जित पाएको हो । अपराजित इरानले २५–२२, २५–२०, २५–२२ को नजिता निकालेको थियो । हारले काजकिस्तान समूह उपविजेता बन्यो ।

गत वर्ष उज्वेकिस्तानमा भएको यस च्याम्पियनसिपको पहिलो संस्करणमा इरानले नै उपाधि जितेको थियो । फाइनलमा आयोजक उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो । सन् २०२४ मा काभा महिला भलिबल नेसन्स लिगको नाममा आयोजित यसै प्रतियोगितामा भारत विजेता बनेको थियो । काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

उता समूह ‘ए’ बाट भारत विजेता र नेपाल उपविजेता भएर सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपालले इरानलाई पाउँदा भारतको भेट काजकिस्तानसँग हुनेछ ।

सोमबारै भारत लगातार तेस्रो जित हात पार्दै आफ्नो समूहको विजेता बनेको थियो । भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतीय टोली २५–१४, २६–२४, २५–१३ को सेटमा विजयी भएको थियो । यो जितले भारतले ३ खेलबाट ८ अंक जोडेको थियो । नेपाल ७ अंकसहित दोस्रोमा रहेको थियो । नेपालले किर्गिस्तान र माल्दिभ्सलाई हराएर ६ अंक बटुल्दा भारतसँग ५ सेट खेल्दा एक अंक खोसेको थियो । एकमात्र खेल जितेको किर्गिस्तानसँग ३ अंक रह्यो भने तीनै खेल हारेको माल्दिभ्स अंकविहीन बन्यो ।

समूह ‘बी’ को महत्त्वहीन खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएर नेपाल यात्रा टुंग्याएको थियो । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully