जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदका लागि हुन लागेको छनोटमा नेपालले समूह ‘ए’ मा मलेसिया, कतार र चीनसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले सिंगापुरमा हुने एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगिताका लागि आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको छ । प्रतियोगिता मे ३१ बाट सुरु भई जुन ९ सम्म चल्ने छ ।
जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदका लागि हुन लागेको छनोटमा नेपालले समूह ‘ए’ मा मलेसिया, कतार र चीनसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छ ।
नेपाली टोलीमा दीपेन्द्रसहित रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, लोकेश बम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल र शाहब आलमलाई समावेश गरिएको छ ।
जनवरीमा भारतको मुम्बईमा ट्वान्टी–२० विश्वकप खेलेको टोलीबाट गुलशन झा, बसिर अहमद, ललित राजवंशी सिंगापुर जाने टोलीमा रहेका छैनन् । उनीहरुको स्थानमा कुशल मल्ल र शाहवले मौका पाएका छन् । मल्लले अघिल्लो महिना कीर्तिपुरमा भएको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मौका पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले गुलशन र इशान पाण्डेलाई बेल्जियममा जुन ६ बाट हुने इयु टी–२० का लागि जेबी ब्रुजेजबाट खेल्न जान अनुमति दिएको छ । गुलशन नेपालको टोलीमा हुने छैनन् । इशानले नेपालबाट हालै एकदिवसीयमात्र खेल्दै आएका छन् । ब्रुजेजले दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, अनिल साह ड्राफ्टबाट लिएको थियो ।
क्यानका प्रवक्ता छुम्बी लामाले नेपाल र नेपाल ‘ए’ टोलीमा नरहेका खेलाडीलाई मात्र बेल्जियमको लिगमा खेल्न अनुमति दिइएको जनाए । अनिल र ललित भारतको अल इन्डिया गोल्ड कप खेल्न जाने नेपालको ‘ए’ टोलीमा रहेका छन् । यस विषयमा ब्रुजेजका प्रतिनिधिसँग सम्पर्क गर्दा आफुहरुले नेपाली खेलाडीको एनओसी लिइसकेको र उनीहरु राष्ट्रिय टोलीको जिम्मेवारी सकेर बेल्जियम आउने दावी गरे ।
रोहित पौडेल, आसिफ शेख, लोकेश बम र सन्दीप लामिछानेलाई पनि इयु टी–२० लिगमा ड्राफ्टबाट विभिन्न टोलीले लिएका थिए । उनीहरुको बेल्जियम यात्रा अनिश्चित बनेको छ ।
