सिक्किम स्ट्रेन्थलिफ्टिङ एसोसिएसनले कपिलवस्तु नगरपालिका–५, सागरटोलका ५० वर्षीय जीवन गिरीलाई ‘आइरन म्यान अफ’ नेपालको उपाधि दिएको छ ।
What you should know
कपिलवस्तु — गठिलो जीउडाल । आकर्षक र बलिष्ठ शारीरिक अंग । देख्दै ‘आइरन म्यान’ जस्ता छन् । शारीरिक रूपमा शरीरलाई स्वस्थ बनाउँदै आकर्षक जीउडाल बनाउन उनले स्ट्रेन्थलिफ्टिङ खेल नेपालमा भित्र्याए । निरन्तर संघर्ष र मिहिनेत गरे । गतिलो सफलता हात लगाए । उनी हुन्– कपिलवस्तु नगरपालिका–५, सागरटोलका ५० वर्षीय जीवन गिरी । उनले शनिबारमा भारतको सिक्किममा ‘आइरन म्यान अफ नेपाल’को उपाधि पाएका हुन् ।
सिक्किम स्ट्रेन्थलिफ्टिङ एसोसिएसनद्वारा मंगन जिल्लामा आयोजित दुईदिने ८ औं स्टेट सिक्किम स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसीप प्रतियोगिता उद्घाटनका अवसरमा गिरीलाई उक्त उपाधि प्रदान गरिएको हो ।
प्रतियोगिताको विशेष अतिथिका रूपमा बोलाएर सिक्किम राज्यका कोअपरेटिभ सप्लाई एण्ड मार्केटिङ फडरेसन (सिम्फेड)का अध्यक्ष तेन्जिङ दोर्जे भुटियाले गिरीलाई उपाधिसहित सम्मानपत्र प्रदान गरेका हुन् । आइतबार सम्पन्न प्रतियोगितामा सिक्किमका समाज कल्याण, महिला तथा बालबालिका मन्त्री सम्दुप लेप्चाले आफ्ना तर्फबाट १० हजार नगद भारुले गिरीलाई पुरस्कृत पनि गरे । मन्त्री लेप्चा सिक्किम स्ट्रेन्थलिफ्टिङ एसोसिएसनका प्रमुख संरक्षक हुन् ।
गिरीले सीमित स्रोत साधनमा सानो उमेरदेखि गरेको लगन, मिहिनेत र संघर्षको परिणाम अहिलेको सम्मान भएको आइरन म्यान अफ सिक्किमको उपाधि पाएका पेमादोर्जे भुटियाले बताए । आफ्ले स्ट्रेन्थलिफ्टिङमा भारतको नाम विश्वभरि चिनाएजस्तै गिरीले नेपालको नाम फैलाएका छन् । ‘छोटो समयमा गिरीले नेपालमा स्ट्रेन्थलिफ्टिङ खेल भित्र्याएर गरेको प्रगति लोभलाग्दो छ,’ उनले भने, ‘त्यही भएर उनलाई सिक्किमे खेलाडीले सम्मान गरेका हुन् ।’ 
२०४५/४६ तिर सितिरियो करा“तेबाट खेल जीवन सुरु गरेका उनी निरन्तरको लगन र मिहिनेतले शारीरिक सुगठनको राष्टि्रयदेखि स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियन बने । साथीहरूको उक्साहटमा लागेर शरीर बनाउन वेट लिफ्टिङ गर्न थालेका उनले अहिले खेलबाट धेरै गर्न सकिन्छ भन्ने देखाएका छन् । उनले आफ्नोमात्र नभई स्ट्रेन्थलिफ्टिङ खेलले मुलककै नाम विश्वमा चिनाउन पाउ“दा हर्ष र खुसीको सीमा नभएको बताए ।
उनी नेपालमा शारीरिक सुगठनको ओलम्पिक मानिने धर्मश्री उपाधिदेखि स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियन बने । उनी २०२३ मा भारतको हैदरावादमा वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एसोसिएसनद्वारा आयोजित १० औं वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा १ सय १५ केजी प्लस तौल समूहमा अमेरिकी खेलाडीलाई पराजित गरेर च्याम्पियन बनेका थिए । प्रतियोगितामा १९ देशका खेलाडी सहभागी थिए । स्ट्रेन्थलिफ्टिङको राम्रो र उत्कृष्ट खेलाडी हुँदा उनी स्ट्रेन्थलिफ्टिङको अन्तर्राष्ट्रिय जज (रेफ्री)को मान्यता पनि पाएका छन् । २०२४ मा कजाकस्तानमा भएको ११ औं वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा निर्णायक बनेका थिए ।
२०२० मा वल्र्ड पावरलिफ्टिङ फेडरेसन (डब्लूपीएफ) एसिया उपाध्यक्षसमेत भए । अहिले त्यो छाडेर उनी वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एसोसिएसनको ९ सदस्यीय कार्यकारी समितिका सदस्य छन् । उनले नै २०२१ मा नेपालमा स्ट्रेन्थलिफ्टिङ खेल भित्र्याएका हुन् । उनी नेपाल स्ट्रेन्थलिफ्टिङ एसोसिएसनका संस्थापक महासचिव पनि हुन् । उनले २०२३ मा काठमाडौंमा स्ट्रेन्थलिफ्टिङको अन्तर्राष्टि्रय प्रतियोगिता गराएका थिए । नेपालसहित भारत, पाकिस्तान, ताजकिस्तान र किर्गिस्तानका खेलाडी सहभागी थिए ।
लुम्बिनी प्रदेश सरकारले उनलाई खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ०७९ मा प्रदेश रत्न विभूषण पनि प्रदान गरेको थियो । खेलकुदकै माध्यमबाट जोडिएर चीन, बेलायत, जापान, अस्ट्रेलिया, मलेसिया र बंगलादेश लगायत १८ बढी मुलुक घुमेका छन् । खेल क्षेत्रमा लागेर नाम र दाम दुवै कमाए । ‘आफ्नो कर्मबाट सन्तुष्ट छु । अरुलाई चिनाउनु पर्दैन,’ उनले भने, ‘सबैले मेरो कामले चिन्छन् ।’
जीवन गिरी
भारत, नेपालमा जिम बडी बिल्डिङमा पुरस्कार जितेको समाचार पत्रिकामा आएपछि साउदी अरबमा जिम क्लब संचालन गर्ने व्यवसायी जीवनलाई खोज्दै नेपाल आए । साउदी र बहराइनमा झण्डै १५ वर्ष जिम कोच भएर काम गरे । सन् २०१५ मा नेपाल फर्केर फेरि उनी पुरानै कर्म जिम र बडी बिल्डिङमा लागेका हुन् ।
‘सामान्य भाषामा भन्दा स्ट्रेन्थलिफ्टिङ पनि एक प्रकारको व्यायाम हो । यस्तो शारीरिक गतिविधिले फिटनेस, कल्याण र समग्र स्वास्थ्यलाई चुस्त–दुरुस्त राखेर राम्रो बनाउ“छ,’ उनले भने, ‘शारीरिक र मानसिक रूपमा स्वस्थ राख्छ ।’ शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु भनेको मानव खुसी र आनन्दित जीवन व्यतित गर्नु भएको स्ट्रेन्थलिफ्टिङका राष्ट्रिय जज विन्दमान लामिछानेले बताए । गिरीको सफलताले आफूलाई गर्व लागेको उनले बताए । यसले स्ट्रेन्थलिफ्टिङका कारण नेपाल र नेपालीको नाम विश्वमै चिनिएको उनले बताए ।
‘यसले मानवमा उत्साह र उमंग पनि थप्छ’ उनले भने, ‘औषधि उपचारमा हुने अनावश्यक खर्च र समय पनि जोगाउ“छ ।’ नियमित स्ट्रेन्थलिफ्टिङको व्यायामले रगतमा राम्रो कोलेस्ट्रोल बढाउँछ र स्वास्थ्यलाई हानि पुर्याउने रगतमा पाइने चिल्लो पदार्थ ट्राइग्लिसराइड्स घटाउँछ । हृदयाघातको जोखिम कम गर्छ । व्यायामले संज्ञानात्मक कार्यहरू र जीवनको गुणस्तर सुधार गर्दछ । वेटलिफ्टिङ, बडी बिल्डिङ र पावर बिल्डिङ जस्तै स्ट्रेन्थलिफ्टिङ पनि एक प्रकारको खेल र व्यायाम हो ।
