रूपन्देही सुपरलिग उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि हात पारेको हो ।

जेष्ठ ९, २०८३

माधव ढुंगाना

Western Cricket Club wins Rupandehi Super League title

What you should know

भैरहवा — २४औं संस्करणको ‘पञ्चकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ ।

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि हात पारेको हो ।

वेष्टर्नको यो बिजयी यात्रा चौथो पटक हो । गत सिजनकोसुपरलिग पनि वेष्टर्नले नै जितेको थियो ।

उपाधि विजेता वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेता लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

टस जितेर ब्याटिङमा आएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले १०–१० रन बनाए ।

बलिङमा लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजयकुमार चौहान र शाह आलमले २–२ तथा शंकर राना र सुजन रानाभाटले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको लुम्बिनी खुकुरी २४ ओभर ५ बलमा १ सय ३७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिशेष गौतमले ८ ओभर ५ बल बलिङ गर्दै २ मेर्डनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । यस्तै, सुझाव थापाले ३ विकेट हात पारे । खुकुरीका समीर अली मुसलमानले ६७ र शंकर रानाले ४७ रन बनाए । अभिशेष गौतम म्यान अफ द फाइनलबाट पुरस्कृत भए ।

प्रतियोगितामा वेष्टर्नका अभिशेष गौतम म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी बेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनै जनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता र उपविजेता टीमलाई आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, खेल संयोजक प्रथम पराजुली, संघका कोषाध्यक्ष निरजप्रताप खाँणलगायतले पुरस्कार प्रदान गरेका थिए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully