काभा च्याम्पियनसिप : भारतको दोस्रो जित, जित्नैपर्ने दबाबमा नेपाल

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भर्खर सम्पन्न खेलमा समूह ‘ए’ मा रहेको भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

जेष्ठ ९, २०८३

ध्रुव तुलाधर

Kava Championship: India's second win, Nepal under pressure to win

काठमाडौँ — प्रतियोगिताको दाबेदार भारतले शनिबार काभा महिला भलिबल च्याम्पियनसिपमा दोस्रो जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भर्खर सम्पन्न खेलमा समूह ‘ए’ मा रहेको भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

भारतले शुक्रबार नेपालविरुद्ध पाँच सेटमा सनसनीपूर्ण जित हात पार्दै सफल सुरुआत गरेको थियो ।

माल्दिभ्सविरुद्ध भारतले २५–९, २५–१४, २५–१७ को सोझो सेटमा विजय नतिजा निकालेको हो । माल्दिभ्सको यो दोस्रो हार हो ।

माल्दिभ्स शुक्रबार अबेर सम्पन्न खेलमा किर्गिस्तानसँग पनि सोझो सेट २५–१९, २५–१६, २५–२२ ले पराजित भएको थियो ।

किर्गिस्तानले आजै घरेलु टोली नेपालविरुद्ध खेल्नेछ । एक खेल गुमाइसकेकाले नेपाललाई किर्गिस्तानविरुद्ध विजय लय समात्नुपर्नेछ । अब खेल गुमाएको स्थितिमा नेपालको सेमिफाइनल यात्राका गाह्रो बन्नेछ ।

यस समूहमा दुई खेल जितेको भारत ५ अंकसहित शीर्ष स्थानमा छ । किर्गिस्तानको ३, नेपालको १ अंक हुँदा माल्दिभ्स अंकविहीन छ ।

नेपाल र किर्गिस्तानबीचको खेल अपरान्ह ५ बजे हुनेछ । नेपाली टोली निरुता ठगुन्नाको कप्तानीमा उत्रनेछ ।  

शनिबार पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत काजकिस्तानले श्रीलंकालाई सोझो सेटमा हराएको थियो । काजकिस्तानले २५–९, २५–१८, २५–१५ को नतिजा निकालेको थियो । यस समूहका अर्को दुई टोलीमा बंगलादेश र इरान हुन् । इरानले सोझो सेटमा जित पाएको थियो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अन्तर्गत नेपाल भलिबलको संघको आयोजनामा भएको काभा च्याम्पियनसिपमा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता छ ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully