कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा शनिबार क्वाटरफाइनलमा विद्युत् ‘बी’ ले जनक शिक्षा सामाग्री केन्द्रलाई २–० गोलले पराजित गर्यो । केयूकेएलले नेपाल वायुसेवा निगम ‘ए’ लाई २–० गोलले हरायो ।
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण ‘बी’ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा सेमिफाइनल पुगेका छन् ।
कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा शनिबार क्वाटरफाइनलमा विद्युत् ‘बी’ ले जनक शिक्षा सामाग्री केन्द्रलाई २–० गोलले पराजित गर्यो । केयूकेएलले नेपाल वायुसेवा निगम ‘ए’ लाई २–० गोलले हरायो ।
अरू क्वाटरफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल बैंक लिमिटेडलाई ३–० तथा कृषि विकास बैंकले विद्युत ‘ए’ लाई ४–० गोलले हराएर सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा कृषिको भेट केयूकेएल तथा विद्युत ‘बी’ ले नागरिक उड्डयनको सामना गर्नेछ ।
महिला फुटसलमा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । लुम्बिनी विकास बैंक र नेपाल बैंक तथा ग्लोबल आईएमइ बैंक र कृषि विकास बैंकबीच प्रतिस्पर्धा हुनेछ । पुरुष/महिला दुवैमा कृषि डिफेन्डिङ च्याम्पियन हो ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार पुरस्कार प्राप्त गर्ने छन् । महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
कर्मचारी खेलकुदअन्तर्गत फुटसल अन्तिम प्रतियोगिता हो । विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल सम्पन्न भइसकेको छ ।
ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन् । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन् । बुद्धिचालमा निगमका दीपेन्द्र ठाकुर विजेता बने ।
