शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगर लगातार तेस्रोपटक उपाधि उचाल्न सफल भएको हो ।
सुनसरी — तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगितामा विराटनगर महानगरपालिका च्याम्पियन बनेको छ ।
इटहरीस्थित डिभिएम स्कुल परिसरको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगर लगातार तेस्रोपटक उपाधि उचाल्न सफल भएको हो । प्रतियोगिताका पहिलो र दोस्रो संस्करणको उपाधि विराटनगरले नै जितेको थियो । दुबै संस्करणको फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरलाई पराजित गरेको थियो ।
विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । विराटनगरका लागि कृतिक कामतले अविजित ५६ रनको उत्कृष्ट इनिङ खेले । ४५ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै ५६ रनमा अविजित रहे । कप्तान फिरदोस अन्सारीले २३ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५१ रनको अर्द्धशतकीय इनिङ खेले । दीपक पासवानले ३२ रनको योगदान दिँदा विराटनगरले अतिरिक्त २० रन पाएको थियो ।
१ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कटहरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो । कटहरीका कप्तान लब कामतले ८ चौकाको मद्दतमा ४९ रनको योगदान दिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । रुद्र प्रताप शाहले २९ रन बनाउँदा दिपु भुजेलले १३, निर्देश बस्नेतले १२ र अभय कामतले ११ रन बटुले ।
विराटनगरका श्रवण किस्कु, अमर यादव र श्रवण यादवले २–२ विकेट लिए । प्लेयर अफ द फाइनल विराटनगरका कप्तान फिरदोस अन्सारी घोषित हुँदै नगद १५ सय पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा बेष्ट बलर विराटनगरका दिपेश कँडेल घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी बनेबापत ७ हजार रुपैयाँ तथा बेष्ट बलर बनेबापत थप ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको बेष्ट ब्याटर कटहरीका लब कामत घोषित भए । प्रतियोगिताभर १ सय १४ रन बनाएका उनले ४ हजार रुपैयाँ पुरस्कार पाए । उपाधिसँगै विजेता विराटनगरले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता कटहरीले ४० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
विजेता तथा उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री रामप्रसाद मेहेता र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे ।
प्रतियोगिता आइडियल स्पोर्ट्स एकेडेमीको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा सम्पन्न भएको हो । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ वटा पालिकाका टोलीहरूको सहभागिता रहेको थियो ।
