काभा भलिबल : इरानको जित, नेपालले भारतसँग खेल्दै

अहिले आयोजक नेपालले निकट प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । निरुता ठगुन्नाको कप्तानीमा नेपाल पहिलो पटक कोर्टमा उत्रेको छ ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

Kava Volleyball: Iran wins, Nepal plays India

काठमाडौँ —  

काभा महिला भलिबल च्याम्पियनसिपमा इरानले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको च्याम्पियनसिपको उद्घाटन खेलमा इरानले बंगलादेशलाई २५–६, २५–९, २५–१० को सोझो सेटमा हराएको हो । इरानकी सवनम अलिखानीको कप्तानीमा रहेको इरान समूह ‘बी’ मा रहेको टोली हो । बंगलादेशले सविना खातुनको कप्तानीमा खेलेको थियो ।

अहिले आयोजक नेपालले निकट प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । निरुता ठगुन्नाको कप्तानीमा नेपाल पहिलो पटक कोर्टमा उत्रेको छ ।

नेपाली टोलीमा कप्तान निरुतासहित स्पाइकरमा उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मीना सुना, सेटरमा प्रगति नाथ र जसना महतो, लिबेरोमा सलिना श्रेष्ठ, शान्ति तामाङ, ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद र अलिशा मानन्धर छन् । टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट छन् ।

समूह ‘ए’ मा नेपाल र भारतसहित किर्गिस्तान र माल्दिभ्स छन् । यी दुईले पनि शुक्रबारै प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपमा एफआईभीबीको सेन्ट्रल एसियाभित्र रहेका नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ ।

कान्तिपुर

Link copied successfully