रोयल नेपाल गल्फ कोर्समा शुक्रबार इभन पार ६८ खेल्दै समग्रमा ११ अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले हराएर भुवनले सिजनको चौथो र करियरको १५ औं उपाधि जितेका हुन् ।
What you should know
काठमाडौँ — भुवन नगरकोटीले सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ कोर्समा शुक्रबार इभन पार ६८ खेल्दै समग्रमा ११ अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले हराएर उनले सिजनको चौथो र करियरको १५ औं उपाधि जितेका हुन् । भुवनले १ लाख ३० हजार रुपैयाँ पाए ।
एमेच्योर राहुल र प्रो दिनेशले शुक्रबार समान ४ अन्डर ६४ सहित समग्रमा ९ अन्डर २ सय ६३ को स्कोरमा संयुक्त दोस्रो स्थान ओगटेका थिए । दोस्रो भएका दिनेशले ९० हजार जिते । शुक्रबहादुर राईले इभन पार ६८ मा दिनको खेल सक्दा समग्रमा ८ अन्डर २ सय ६४ सहित चौथो भए । उनले ७० हजार पाए ।
नीरज तामाङले पनि इभन पार ६८ खेल्दै समग्रमा ७ अन्डर २ सय ६५ को स्कोरमा पाँचौं भएर ५५ हजार पाए । १ ओभर ६९ खेल्दा समग्रमा ६ अन्डर २ सय ६६ सहित धनबहादुर थापा छैटौं भए । उनले ४६ हजार पाए ।
५ अन्डर २ सय ६७ सहित रामे मगर सातौं, ४ अन्डर २ सय ६८ सहित रवि खड्का आठौं, २ अन्डर २ सय ७० सहित भुवनकुमार रोक्का र १ अन्डर २ सय ७१ सहित एमेच्योर स्वप्निल भट्टराई दसौं भए । रामेले इभन पार ६८, रविले २ अन्डर ६६, भुवनले १ अन्डर ६७ को कार्ड बनाए । उनीहरूले क्रमशः ३९ हजार, ३५ हजार र ३२ हजार प्राप्त गरे ।
एमेच्योरतर्फ समग्रमा ९ अन्डर २ सय ६३ सहित राहुलले उपाधि जित्ने क्रममा स्वप्निललाई ८ स्ट्रोकले पछि पारे । स्वप्निल दोस्रो भए । उनले १ अन्डर ६७ खेल्दै उनले समग्रमा १ अन्डर २ सय ७१ को स्कोर निकाले ।
अन्तिम दिन भुवनसँग ३ स्ट्रोकको अग्रता थियो । अग्रता जोगाउँदै च्याम्पियन हुने क्रममा उनले फ्रन्ट र ब्याक दुवै नाइन इभन पार ३४ मा पूरा गरे । चौथो र पााचौं होलमा बर्डी प्रहार गरेका उनले नवौं होलमा डबल बोगी खेपे । यसपछि ब्याकनाइनको सबै होलमा पार जोगाए ।
राहुलले चौथो र छैटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ खेले। यसपछि १०, ११ र १३ औं होलमा पनि बर्डी प्रहार गरे भने १५ औं होलमा एक शट खेर फाले । ब्याकनाइन पनि २ अन्डर ३४ मा सकाए।
दिनेशले पनि फ्रन्ट र ब्याकनाइन दुवै २ अन्डर ३२ मा सके । तेस्रो होलमा एक शट खेर फाले पनि चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि १० र १६ औं होलमा पनि शट बचाए ।
विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे । यो सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता हो ।
