क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा पूजा महतोले ३ विकेट लिएपछि टस जितेको मलेसिया १६.५ ओभरमा ६७ रनमै अलआउट भयो ।
What you should know
काठमाडौँ —
शीर्षपंक्तिको ब्याटिङ धराशायी भए पनि नेपाली महिला क्रिकेट टोलीले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई २ विकेटले पराजित गरेको छ ।
क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा पूजा महतोले ३ विकेट लिएपछि टस जितेको मलेसिया १६.५ ओभरमा ६७ रनमै अलआउट भयो । प्लेयर अफ द म्याच पूजाले ४ ओभरमा १३ रनमात्र खर्चेर तीन विकेट लिएकी थिइन् ।
मनीषा उपाध्यायले ४ ओभरमा १ मेडन राख्दै १७ र रिया शर्माले २.५ ओभरमा १३ रन खर्चेर २–२ विकेट तथा कविता कुँवरले ३ ओभरमा १ मेडन राख्दै १२ र सीता रानामगरले ३ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १–१ विकेट लिएका थिए ।
मलेसियाबाट इल्सा हन्टरले मात्र दोहोरो अंकमा स्कोर बनाएकी थिइन् । उनले १४ बलमा २ चौकासहित १० रन बनाइन् । कप्तान मास इल्यासा ८, एइना हसिम, इद्रिना नबिल र धानुश्री मुहुनानले समान ७ रन जोडेका थिए ।
जबाफमा नेपालले निकै खराब सुरुआत गरेको थियो । ओपनर बिन्दु रावल र पूजा खाता नखोली आउट भए । रुबि पोदारले २२ बल खेल्दै २ चौकासहित २२ रन बनाइन् । त्यसपछि कप्तान इन्दु बर्मा र पूर्व कप्तान रुबिना क्षेत्री १–१, कविता ३ र सीता ५ रनमा आउट भए ।
टिकेर खेलेकी ओपनर सम्झना खड्काले ३९ बल खेल्दै २ चौकासहित ३२ रन बनाइन् । नेपाललाई विजयनिम्ति ६ रन आवश्यक हुँदा उनी पनि आउट भइन् । कविता जोशी ८ बलमा १ चौकासहित ६ र रिया शर्मा ४ रनमा अविजित रहेपछि नेपालले १७.३ ओभरमा ७१ रन बनाएको थियो ।
नेपाल र मलेसियाबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । दुवै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता र एसीसी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन् ।
