सूर्य नेपाल च्यालेन्जमा भुवनको एकल अग्रता

शुक्र इभन पार ६८ को स्कोरसहित समग्रमा ८ अन्डर १ सय ९६ स्कोरबाट दोस्रो स्थानमा रहे । अघिल्लो दिन दुवै संयुक्त शीर्षस्थानमा थिए ।

जेष्ठ ७, २०८३

कान्तिपुर संवाददाता

Bhuvan's solo lead in Surya Nepal Challenge

काठमाडौँ — गल्फर भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा ११ अन्डर १ सय ९३ को स्कोरसहित शीर्षस्थान ओगटेका छन् ।

उनले बिहीबार ३ अन्डर ६५ को स्कोर बनाएर शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारे । शुक्र इभन पार ६८ को स्कोरसहित समग्रमा ८ अन्डर १ सय ९६ स्कोरबाट दोस्रो स्थानमा रहे । अघिल्लो दिन दुवै संयुक्त शीर्षस्थानमा थिए ।

समग्रमा ७ अन्डर १ सय ९७ को स्कोरसहित नेपाल नम्बर एक नीरज तामाङ र धनबहादुर थापा संयुक्त तेस्रो स्थानमा रहे । नीरजले ६ अन्डर ६२ को उत्कृष्ट स्कोर निकाले । धनले २ अन्डर ६६ मा दिनको खेल टुंग्याए ।

समग्रमा ५ अन्डर १ सय ९९ सहित एमेच्योर राहुल विश्वकर्मा तथा प्रो गल्फर रामे मगर र दिनेश प्रजापति  संयुक्त पाँचौं स्थानमा रहे । राहुलले ३ अन्डर ६५ तथा रामे र दिनेशले समान २ अन्डर ६६ को कार्ड बनाए ।

६ अन्डर ६२ को उत्कृष्ट नतिजामा टंकबहादुर कार्की समग्रमा ४ अन्डर २०० सहित आठौं स्थानमा उक्लिए । समग्रमा २ अन्डर २ सय २ सहित रवि खड्का नवौं स्थानमा छन् । उनले २ अन्डर ६६ को स्कोर बनाए । २ ओभर ७० खेलेका भुवनकुमार रोक्का समग्रमा १ अन्डर २ सय ३ सहित दसौं स्थानमा रहे ।

समग्रमा पाँचौं स्थानमा रहेका राहुल एमेच्योरतर्फ शीर्षमा छन् । उनले स्वप्निल भट्टराईलाई ५ स्ट्रोकले पछि पारे । समग्रमा इभन पार २ सय ४ खेलेका उनले बिहीबार १ ओभर ६९ मा खेल सके । तेस्रो दिन १ अन्डर ६७ खेलेका कवि थापा समग्रमा ४ ओभर २ सय ८ सहित तेस्रो स्थानमा छन् ।

शीर्षस्थानमा एकल अग्रता बनाएका भुवनले फ्रन्टनाइन २ अन्डर ३२ सक्नेक्रममा पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे । यसपछि १० र ११ औं होलमा शट बचाएका उनले १६ औं होलको बोगीले ब्याकनाइन १ अन्डर ३३ मा पार गरे ।

शुक्रले फ्रन्ट र ब्याकनाइन दुवै इभन पार ३४ मा सके । उनले पहिलो र चौथो होलमा शट बचाउँदा तेस्रो र छैटौं होलमा बोगी सामना गरे । १३ औं होलमा बर्डी र १६ औं होलमा बोगी खेपे ।

नीरजले बोगीरहित फ्रन्टनाइन खेल्दै चार बर्डी प्रहार गरे । पहिलो, दोस्रो, चौथो र आठौं होलको बर्डीले फ्रन्टनाइन ४ अन्डर ३० मा सके । १०, ११ र १३ औं होलमा बर्डीको सफलता पाएका उनले १६ औं होलमा एक शट खेर फाले । उनले ब्याकनाइन २ अन्डर ३२ मा टुंग्याए ।  

धनले फ्रन्ट र ब्याकनाइन १ अन्डर ३३ मा पार गरे । तेस्रो होलमा बोगी खेलेका उनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे । यसपछि १४ र १५ औं होलमा  शट बचाउँदा १६ औं होलमा बोगी सामना गरे ।

कान्तिपुर

Link copied successfully