सूर्य नेपाल च्यालेन्ज गल्फ : शुक्र र भुवन शीर्षमा

यो सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता हो । ५२ खेलाडी प्रतिस्पर्धामा छन् ।

जेष्ठ ६, २०८३

कान्तिपुर संवाददाता

Surya Nepal Challenge Golf: Venus and Bhuvan at the top

काठमाडौँ — सूर्य नेपाल च्यालेन्ज गल्फमा बुधबार शुक्रबहादुर राई र भुवन नगरकोटी समग्रमा ८ अन्डर १ सय २८ को स्कोरसहित संयुक्त अग्रता बनाएका छन् । उनीहरू दुवैले ६ अन्डर ६२ को उत्कृष्ट स्कोरमा धनबहादुर थापालाई ३ स्ट्रोकले पछि पारेका थिए । धनले दिनकै उत्कृष्ट ७ अन्डर ६१ को स्कोर बनाए । उनले समग्रमा ५ अन्डर १ सय ३१ स्कोर गरे । समग्रमा ३ अन्डर १ सय ३३ सहित रामे मगर, भुवनकुमार रोक्का र अघिल्लो दिन अग्रता बनाएका दिनेश प्रजापतिले संयुक्त चौथो स्थान बाँडे । रामेले इभन पार ६८, भुवन रोक्काले १ ओभर ६९ र दिनेशले ३ ओभर ७१ को स्कोर गरे ।

१ अन्डर ६७ को कार्ड बनाएका दीपक मगर समग्रमा २ अन्डर १ सय ३४ सहित सातौं स्थानमा रहे । नेपाल नम्बर एक गल्फर नीरज तामाङ ४ अन्डर ६४ सहित समग्रमा १ अन्डर १ सय ३५ सहित आठौंमा छन् । समग्रमा इभन पार १ सय ३६ को स्कोरमा रवि खड्का र सञ्जय लामा संयुक्त नवौं स्थानमा छन् । रविले ३ अन्डर ६५ खेल्दा सञ्जयले ३–ओभर ७१ मा खेल टुंग्याए ।

एमेच्योरतर्फ राष्ट्रिय टोलीका सदस्य राहुल विश्वकर्माले समग्रमा २ अन्डर १ सय ३४ सहित स्वप्निल भट्टराईलाई १ स्ट्रोकले पछि पारे । राहुलले २ अन्डर ६६ को कार्ड बनाए । समग्रमा १ अन्डर १ सय ३५ स्कोर जोडेका स्वप्निलले ३ ओभर ७१ को स्कोर बनाए । समग्रमा ५ ओभर १ सय ४१ को स्कोरमा कवि थापा तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका बलराम पौडेलले पनि कट बनाए ।

३६ होलको समाप्तीमा ८ ओभर १ सय ४४ स्कोर गरेका १८ प्रो र ४ एमेच्योरसहित २२ खेलाडी कट बनाउन सफल रहे । प्रोतर्फ प्रदीपकुमार लामा, टंकबहादुर कार्की, सुनिल केसी, रमेश अधिकारी, विकास बोगटी, जयराम श्रेष्ठ, सञ्जीवबहादुर नेपाली र सुन्दर राईले कट बनाए ।

शुक्रले दिनको सुरुआत बोगीबाट गरे पनि छैटौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा सके । यसपछि शुक्रले लोभलाग्दो प्रदर्शनका साथ ब्याकनाइन ५ अन्डर २९ मा पूरा गरे । ११ देखि १३ औं होलमा लगातार तीन बर्डी प्रहार गरेका उनले १६ र १८ औं होलमा पनि शट बचाए । बोगीरहित ब्याकनाइन खेलेका उनले ५ बर्डी प्रहार गरे । उनी छैटौंबाट शीर्षस्थानमा उक्लिए ।

भुवनले फ्रन्ट र ब्याकनाइन दुवै ३ अन्डर ३१ मा सके । बोगीरहित स्कोर कार्ड तयार गरेका उनले पहिलो, चौथो, नवौं तथा १२, १४ र १७ औं होलमा गरी ६ बर्डीको सफलता प्राप्त गरे ।

दिनको उत्कृष्ट ७ अन्डरको कार्ड बनाएका धनले पनि बोगीरहित प्रदर्शन गरे । पहिलो, तेस्रो र छैटौं होलमा शट बचाएका उनले फ्रन्टनाइन ३ अन्डर ३३ मा सके । यसपछि १३, १४, १७ र १८ औं होलको बर्डीले ब्याकनाइन ४ अन्डर ३० मा पूरा गरे ।

यो सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता हो । ५२ खेलाडी प्रतिस्पर्धामा छन् ।

कान्तिपुर

Link copied successfully