सूर्य नेपाल च्यालेन्ज : दिनेशको अग्रता

दिनेश प्रजापतिले भुवनकुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन् ।

जेष्ठ ५, २०८३

कान्तिपुर संवाददाता

Surya Nepal Challenge: Dinesh leads

काठमाडौँ — सूर्य नेपाल च्यालेन्ज गल्फमा सोमबार पहिलो दिन दिनेश प्रजापति ६ अन्डर ६२ को उत्कृष्ट स्कोरसहित अग्रता बनाएका छन् ।

दिनेशले भुवनकुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन् । समान ४ अन्डर ६४ को स्कोर बनाएका उनीहरू संयुक्त दोस्रो स्थानमा छन् ।

सञ्जय लामा र रामे मगरले ३ अन्डर ६५ स्कोर बनाएर संयुक्त चौथो स्थानमा छन् । भुवन नगरकोटी र शुक्रबहादुर राई २ अन्डर ६६ सहित संयुक्त छैटौं स्थानमा रहँदा दीपक मगर, टंकबहादुर कार्की र एमेच्योर बलराम पौडेलले १ अन्डर ६७ सहित संयुक्त रूपमा आठौं स्थानमा रहे ।

एमेच्योरतर्फ स्वप्निल ४ अन्डर ६४ सहित बलराम पौडेललाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा छन् । १ अन्डर ६७ को स्कोरमा बलराम दोस्रो र राहुल विश्वकर्मा इभन पार ६८ सहित तेस्रो स्थानमा छन् ।

रोयल नेपाल गल्फ क्लबमा दिनेशले उत्कृष्ट सुरुआत गर्ने क्रममा ८ वटा बर्डी प्रहार गरे । पहिलो, दोस्रो र नवौं होलमा शट बचाउँदा पाँचौं होलमा बोगी खेपे । फ्रन्टनाइन २ अन्डर ३२ मा सकेका उनले १०, १३, १४, १६ र १७ औं होलमा बर्डीको सफलता पाए । १२ औं होलमा एक शट खेर फाल्दा ब्याकनाइनमा ४ अन्डर ३० को सानदार प्रदर्शन गरे ।

भुवनले तेस्रो होलको बोगीविरुद्ध पहिलो, चौथो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४ अन्डर ३० मा पूरा गरे । बाँकी ९ होलमा पार बचाएर ब्याक नाइन इभन पार ३४ खेले ।

एमेच्योर स्वप्निलले फ्रन्टनाइन बोगीरहित खेले । दोस्रो होलमा इगलको सफलता प्राप्त गर्दा नवौं होलको बर्डीले फ्रन्टनाइन ३ अन्डर ३१ मा सके । १२ औं होलमा बोगी खेपेका उनले १३ र १७ औं होलमा शट बचाएर ब्याकनाइन १ अन्डर ३३ मा टुंग्याए ।  

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता एनपीजीएले आयोजना गरेको हो । चार दिने प्रतियोगितामा ५२ गल्फर प्रतिस्पर्धामा छन् ।  

विजेताले १ लाख ३० हजार, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९० हजार र ७० हजार पुरस्कार प्राप्त गर्नेछन् ।  

कान्तिपुर

Link copied successfully