भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लबले मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले पराजित गर्दै विजयी भएको हो ।
भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ ।
उसले मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले पराजित गर्दै विजयी भएको हो । पराजित भएपनि मेलबर्न सेमिफाइनल पुगिसकेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९० रन बनायो । उसलाई सस्तैमा रोक्न जेआरका विनय जिसीले ४, अनमोल श्रीस थापाले ३ र दिनेश विष्टले २ विकेट लिए ।
मेलबर्नका अशोक धामीले २६, आदित्य यादवले २४ र अस्मान थारुले २० रन बनाए । उसका ५ खेलाडी शून्य रनमै पेभेलियन फर्किए ।
जवाफी ब्याटिङ गरेको जेआरले ३० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विशाल भुसालले २७, खडक बोहराले २० र डालबहादुर क्षेत्रीले अविजित १९ रन बनाए ।
मेलबर्नका अशोक धामी र विपिन आचार्यले ३–३ तथा रामजी कुर्मीले २ र आरिफ अहमदले १ विकेट लिए । विनय जिसी प्लेयर अफ द म्याच बन्दै पुरस्कृत भए ।
