नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार नेपाल समूह ‘बी’ मा छ । नेपालले मे २७ मा चीन र मे २८ मा इन्डोनेसियासँग खेल्ने छ ।
काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटको समूह चरणमा इन्डोनेसिया र चीनसँग खेल्ने भएको छ । प्रतियोगिता मे २३ देखि ३१ सम्म मलेसियामा आयोजना हुँदै छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार नेपाल समूह ‘बी’ मा छ । नेपालले मे २७ मा चीन र मे २८ मा इन्डोनेसियासँग खेल्ने छ । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । विजेता टोलीले फाइनल खेल्ने छन् भने सेमिफाइनलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले प्रतियोगिताबाट शीर्ष ३ टोली जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा छानिने छ । इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली आइतबार मलेसिया लागिसकेको छ । नेपालले मलेसियामै जुन १ देखि १३ सम्म हुने एसीसी प्रिमियर कपमा पनि प्रतिस्पर्धा गर्नेछ ।
त्यसअघि नेपालले मलेसियासँग बुधबार र शुक्रबार दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने तालिका छ । नेपाली टोलीमा सीता रानामगर र सोनी पाख्रिनले पुनरागमन गरिरहेकी छन् भने सीमाना केसीले पहिलो पटक स्थान बनाएकी छन् ।
