४ दिन चल्ने ७२ होलको प्रतियोगितामा ३९ व्यावसायिक (प्रोफेसनल) र १२ एमेच्योर गल्फरको सहभागिता रहनेछ ।
काठमाडौं — सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज तिलगंगास्थित रोयल नेपाल गल्फ कोर्समा मंगलबार सुरु हुने भएको छ ।
४ दिन चल्ने ७२ होलको प्रतियोगितामा ३९ व्यावसायिक (प्रोफेसनल) र १२ एमेच्योर गल्फरको सहभागिता रहनेछ । पहिलो ३६ होलपछि कट लागू गरिनेछ । उत्कृष्ट १८ प्रो र एमेच्योर खेलाडीले अन्तिम ३६ होलमा स्थान बनाउने छन् ।
प्रतियोगितालक्षित गर्दै गल्फ कोर्सको अवस्था विशेष रूपमा सुधार गरिएको छ । अधिकांश खेलाडीहरू प्रतियोगिताअघि अभ्यास राउन्डमार्फत कोर्सको अवस्थासँग अभ्यस्त भइरहेका छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख १० हजार रहेको छ । विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछन् भने उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः ५५ हजार र ४६ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट १८ स्थानभित्र रहने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताका प्रमुख दाबेदारमा सिजनमा ३ उपाधि जितिसकेका भुवन नगरकोटी, अर्डर अफ मेरिटमा शीर्षस्थानमा रहेका तथा दुई उपाधि विजेता नीरज तामाङ, शुक्रबहादुर राई, दिनेश प्रजापति तथा जयराम श्रेष्ठ रहेका छन् । एमेच्योरतर्फ सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विश्वकर्मा पनि बलिया दाबेदार मानिएको छ ।
एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले अघिल्ला प्रतियोगिताहरू झैं यसपटक पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै निकै राम्रो स्कोर गर्ने अपेक्षा रहेको बताए ।
