एसियाड छनोट खेल्ने तेक्वान्दो टोलीको बिदाइ

जापानको आइची–नागोयामा हुने २०औं एसियाली खेलकुदको छनोटसमेत रहेको उक्त प्रतियोगितामा नेपालका ३ पुरुष र ४ महिला खेलाडीले भाग लिने छन् ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Farewell to the Taekwondo team that will play in the Asian Games qualifiers.

What you should know

काठमाडौं — २७औं एसियाली ग्यारोगी तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ ।

जापानको आइची–नागोयामा हुने २०औं एसियाली खेलकुदको छनोटसमेत रहेको उक्त प्रतियोगितामा नेपालका ३ पुरुष र ४ महिला खेलाडीले भाग लिने छन् ।

५ देखि ११ जेठसम्म हुने प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन् । महिला ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि शुभाङ्गी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले प्रतिस्पर्धा गर्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडी एसियाली खेलकुदलाई छनोट हुने प्रावधान छ । नेपालको खेल भने ७ जेठदेखि हुनेछ ।

प्रशिक्षकमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा आम्गाईं छन् ।

उलानबटारमै हुने नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितमा भाग लिने नेपाली टोली भने मंगोलिया पुगिसकेको छ । एसियाली खेलकुदकै लागि खेलाडी छनोटका रूपमा रहेको प्रतियोगितामा युवराज रानामगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा खेल्ने दुई खेलाडीसहित ४ सदस्यीय पारा तेक्वान्दो टोलीलाई पनि बिदाइ गरिएको  छ ।

टोली शुक्रबार मंगोलियाको उलानबटार जाने भएको छ । २६ मेमा हुने प्रतियोगतिाको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कविराज नेगी लामा र व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

फाइनल खेल्ने खेलाडी जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुन पाउने छन् । के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि र्‍याङकिङका आधारमा पलेशा गोबर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जनाएका छन् । पलेशा विश्व वरीयताको १० औं स्थानमा छिन् ।

त्यसअघि उनीहरू २६ मेमा उलानबटारमै हुने ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुनेछन् । यो प्रतियोगितामा भने अमिर र रेणुसहित पलेशाले पनि खेल्ने छन् । चीनमा अध्ययनरत पलेशा त्यतैबाट उलानबटार जाने छिन् ।

दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully