प्रतियोगिताको सहभागी टिमको संख्या बढाएर दसदेखि १२ सम्म पुर्याइनेछ । त्यस अनुसार सहभागी टिमले आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछन् ।
काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण भदौदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले भदौ २० बाट प्रतियोगिता हुने आइतबार घोषणा गरेको हो ।
यही संस्करणदेखि प्रतियोगिता दोहोरो राउन्ड रोबिनको आधारमा हुनेछ र ती खेल ‘होम एन्ड अवे’ को आधारमा हुनेछ । यस्तै प्रतियोगिताको सहभागी टिमको संख्या बढाएर दसदेखि १२ सम्म पुर्याइनेछ । त्यस अनुसार सहभागी टिमले आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछन् ।
पछिल्लो संस्करणमा सात टिमको सहभागिता रहेको थियो र ललितपुर सिटी एफसी दुईपल्टको डिफेन्डिङ च्याम्पियन रहेको छ । दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई हराएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा सात टिम सहभागी थिए र काठमाडौं रेजर्स विजयी रहेको थियो । दोस्रो संस्करणमा भने सहभागी संख्या बढेर नौ पुगेको थियो ।
