भैरहवामा जारी पञ्चकन्या रुपन्देही सुपर लिगअन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट एन्ड स्पोर्टिङ क्लबले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै जित हात पारेको हो ।
भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पञ्चकन्या रुपन्देही सुपर लिगअन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट एन्ड स्पोर्टिङ क्लबले जितेको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै जित हात पारेको हो । प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जित हो ।
जितका लागि पाएको १ सय ५८ रनको लक्ष्य मेलवर्नले ३५ ओभर ४ बलमा ४ विकेट गुमाएर १ सय ५९ रन बनायो । उसको जितमा विपिन आचार्यले अविजित ९४ रनको पारी खेले । आदित्य यादवले २३, अर्मन थारुले २० र अशोक धामीले १९ रनको योगदान गरे ।
बलिङमा बुद्धका विपिन शर्मा, दिलसाद अली, प्रवेज अन्सारी र अमित अग्रहरीले समान १–१ विकेट लिए ।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ३४ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मिथिलेश यादवले ५६, दिलसाद अलीले ४०, सुरज पौडेलले २९ र विपिन शर्माले ११ रन बनाए ।
बलिङमा मेलवर्नका अशोक धामीले ५, रमेश कुर्मी, विपिन आचार्य र आरिफ खानले १–१ विकेट लिए । खेलमा विपिन आचार्य प्लेयर अफ द म्याच भई नगद पुरस्कारबाट पुरस्कृत भए ।
