जुम्लाका धीरबहादुर र सुनमायालाई प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि

३३ किलोमिटर दूरीको रेसमा पुरुषतर्फ धीरबहादुर र महिलातर्फ सुनमाया बुढाले स्वर्ण पदक जितेका हुन् ।

जेष्ठ ३, २०८३

डीबी बुढा

Jumla's Dhir Bahadur and Sunmaya win first Chhayanath Trail Ultra Race title

जुम्ला — मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा भएको प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले उपाधि जितेका छन् । 

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा भएको ३३ किलोमिटर दूरीको रेसमा पुरुषतर्फ धीरबहादुर र महिलातर्फ सुनमाया बुढाले स्वर्ण पदक जितेका हुन् । 

धीरबहादुरले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । जुम्लाकै दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गरेर रजतपदक जिते । चन्द्रबहादुर रावतले ४ घण्टा ५ मिनेटमा दूरी पार गरेर कांस्यपदक जिते । त्यसैगरी अर्जुन कुलुङ राईले ४ घण्टा २४ मिनेटमा चौथो र रमेश लिम्बु ४ घण्टा ३० मिनेट १० सेकेन्डमा दूरी पार गरेर पाँचौ स्थान ओगट्न सफल भए ।

मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लले महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेको बताए । उनका अनुसार राममाया बुढा ५ घण्टा २६ मिनेट ४० सेकेन्डमा रजतपदक र कल्पना बुढाले ५ घण्टा ३५ मिनेट २० सेकेन्डमा दूरी पार गरेर कांस्यपदक जितेका हुन् । सम्झना बुढाले ५ घण्टा ४० मिनेट १० सेकेन्डमा चौथो र निर्मला राईले ५ घण्टा ४८ मिनेटमा दूरी पार गरेर पाँचौ स्थान हासिल गरे । 

गाउँपालिकाका अनुसार रेसमा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए । २ जना एलिट, ५ जना इन्टरमिडिएट, ९ जना एड्भान्स तथा ७ जना एक्सप्लोर वर्गका धावक सहभागी थिए । रेसमा विजेताहरूलाई सोमबार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फ स्वर्ण पदक जित्नेले जनही दुई लाख रुपैयाँ, स्वर्ण पदक र प्रमाणपत्र पाउने छन् । यस्तै रजत पदक जित्नेले एक लाख ५० हजार रुपैयाँ, कांस्यपदक जित्नेले एक लाख नगद, कांस्यपदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले ७५ हजार तथा पाँचौं हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सकिएको थियो । 

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने रेसको आयोजना गरिएको बताए । उनले भने, ‘स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु चिनाउनुका साथै खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित हुने समेत विश्वास लिएका छौं ।’ 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully