नेपाल खेलकुद प्रतिष्ठानले आयोजना गरेको तेस्रो बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा दौड भएको थियो ।
खोटाङ — दिर्पा बस्नेत र अमर लिम्बूले दिक्तेलमा शनिबार सम्पन्न १५ वर्षमाथिको १० किलोमिटर खुला दौड प्रतियोगिता जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानले आयोजना गरेको तेस्रो बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा दौड भएको थियो ।
महिलातर्फ केपिलासगढीकी दिर्पा विजेता बनिन् भने नेपाली सेनाकी जानुका राउत दोस्रो र सेनाकै मनिता खड्का तेस्रो भइन् । १५ वर्षमाथिको खुला पुरुष १० किलोमिटरमा ताप्लेजुङका अमिर प्रथम, खोटाङका गजेन्द्र राई दोस्रो र सोलुखुम्बुका रुद्रधन कुलुङ तेस्रो भए ।
पहिलोदेखि तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको ७ किलोमिटर दौडमा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिं तामाङ दोस्रो र खोटाङका शिवप्रसाद राई तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सचिव मिलन कसजूले बताएका छन् ।
आमाहरूको ५ किलोमिटर दौडमा विजयखर्ककी जमुना कटवाल प्रथम, एपीएफकी रोजिना राई दोस्रो र बुवालुङकी भीमकुमारी आचार्य तेस्रो भई क्रमशः ५ हजार ५ सय ५५, ४ हजार ४ सय ४४ र ३ हजार ३ सय ३३ रुपैयाँ पाए । ५५ वर्षमाथिको पुरुष २ किलोमिटर दौड खोटाङका धनीराम राई, विचारी तामाङ र काठमाडौंका बुद्धवीर लामा पहिलोदेखि तेस्रो भए ।
१० वर्षमुनिको छात्रा एक माइल दौडमा जालपा माविकी अपेक्षा राई प्रथम, सरस्वती मावि दिक्तेलकी युना राई दोस्रो र श्रीमावि बास्बोटेकी श्रद्धा राई तेस्रो तथा छात्रतर्फ जालपा माविका अनिल राई प्रथम, श्रीमावि बास्बोटेका अजय श्रेष्ठ दोस्रो र दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका रविसन खत्री तेस्रो भए ।
१२ वर्षमुनिको ३ किलोमिटर दौड छात्रातर्फ श्रीमावि बास्बोटे लफ्याङकी मन्दिरा श्रेष्ठ प्रथम, शितला मावि खाल्लेकी एलिसा कटवाल दोस्रो र खोटेहाङ–६ इन्द्रेणीपोखरीकी रक्षा विश्वकर्मा तेस्रो भएका छन् । त्यस्तै छात्रतर्फको ३ किलोमिटर दौडमा निर्मलीडाँडाका निसान केसी प्रथम, रावाबेंसी १ कुभिन्डेस्थित कालिका आधारभूत विद्यालयका दर्शन राई दोस्रो र उक्त विद्यालयकै एञ्जल राई तेस्रो भएका छन् । १२ वर्षमुनिको छात्रा–छात्र ३ किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
१२ देखि १५ वर्षमुनिको छात्रा ७ किलोमिटर दौडमा शितला मावि खाल्लेकी अस्मिता कटवाल, खोटेहाङ–६ इन्द्रेणीपोखरीकी लक्ष्मी राई र दिक्तेलकी कविता आचार्य तथा छात्रतर्फ भोजपुर हतुवागढी–९ का सम्पत राई, दिप्रुङ चुइचुम्मा–६ सप्तेश्वर छितापोखरीका न्युजल राई र नेर्पाका धीरज राई पहिलोदेखि तेस्रो भए ।
