दुई दशकदेखि क्रिकेटका सक्रिय अम्पायर भास्कर अर्याल जण्डिसबाट पीडित थिए ।
सुनसरी — नेपाली क्रिकेटका अम्पायर भाष्कर अर्यालको निधन भएको छ । विराटनगर–४ निवासी ४६ वर्षीय अर्यालको आइतबार बिहान निधन भएको हो ।
परिवारजनका अनुसार अर्याल एक महिनादेखि जण्डिस रोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनको दुई सातासम्म अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकले थप उपचार सम्भव नरहेको जानकारी दिएपछि गत आइतबार आफन्तले उनलाई घर फर्काएका थिए ।
घरमै उपचार र हेरचाहका क्रममा आइतबार बिहान उनको निधन भएको हो । अर्याल दुई दशकदेखि क्रिकेट अम्पायरको भूमिकामा सक्रिय रहँदै आएका थिए । उनले स्थानीयदेखि विभिन्न प्रतियोगितामा अम्पायरिङ गर्दै क्रिकेट खेलको विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
उनी क्रिकेटका लेभल–वान अम्पायर थिए । क्रिकेटप्रतिको उनको लगाव र निरन्तर सक्रियताका कारण उनी खेलकर्मीमाझ परिचित थिए । क्रिकेट क्षेत्रसागै पत्रकारिता र प्रकाशन क्षेत्रमा पनि उनको अनुभव थियो । उनले करिब एक दशकसम्म कान्तिपुर पब्लिकेसन्सको विराटनगरस्थित छापाखानामा प्रेस सहयोगीका रूपमा काम गरेका थिए । अर्यालको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
उनको निधनप्रति कोशी प्रदेश क्रिकेट संघ तथा नेपाल क्रिकेट संघ (क्यान)ले गहिरो दु:ख व्यक्त गरेका छन् । दुवै संस्थाले सामाजिक सञ्जालमार्फत अर्यालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । अर्यालको आजै दिउासो विराटनगरस्थित परोपकारघाटमा अन्त्येष्टि गरिने उनका सहकर्मी तथा क्रिकेट अम्पायर कमलेश ठाकुरले जानकारी दिए ।
