युवा टेबलटेनिस टोली दक्षिण कोरियातिर

दक्षिण कोरियाको इन्चोनमा मे २६ सम्म हुने याङ यङ जा टेबलटेनिस मिसन (वाईटीटीए) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरमा भाग लिन ६ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको इन्चोन गएको छ ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Youth table tennis team heads to South Korea

काठमाडौँ — दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ सम्म हुने याङ यङ जा टेबलटेनिस मिसन (वाईटीटीए) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरमा भाग लिन ६ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको इन्चोन गएको छ ।

प्रशिक्षण शिविरपछि उनीहरू २७ मेमा हुने अन्तर्राष्ट्रिय क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रशिक्षण शिविर र प्रतियोगितामा सहभागी हुने खेलाडीमा यू–१३ मा रिभानमुनि बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६ मा रिजन शाक्य र सुरम्या शाक्य तथा यू–१९ मा हिमाल बिष्ट र योङ्गी पौडेल छन् । टोली व्यवस्थापकमा हान्न को रहेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

यस प्रशिक्षण शिविरका लागि खेलाडी छनोट गत ५ अक्टोबरमा नेपाल एपीएम क्लबमा भएको थियो । प्रतियोगितामा यू–१३, यू–१६ र यू–१९ उमेर समूहका छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक विधाका विजेता खेलाडीलाई दक्षिण कोरियाको प्रशिक्षण शिविरका लागि छनोट गरिएको कोषाध्यक्ष महर्जनले जानकारी दिए ।

प्रशिक्षण शिविरमा नेपालसहित फिलिपिन्स, लाओस र मंगोलियाका गरी २५ खेलाडीको सहभागिता रहनेछ ।

उक्त शिविरको नेतृत्व सन् १९८८ की ओलम्पिक स्वर्ण विजेता दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ यङ जाले गर्नेछिन् । सहभागी खेलाडीले उनी तथा उनको प्रशिक्षक टोलीसँग प्रत्यक्ष प्रशिक्षण लिने अवसर पाउने छन् ।

याङ यङ जाले ७ वर्षदेखि नेपाली टेबलटेनिसको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएकी छन् । उनले नेपालमा तीन पटक टेबलटेनिस क्लिनिक सञ्चालन गरिसकेकी छन् भने नेपाली युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा विकासका लागि निरन्तर योगदान पुर्‍याउादै आएकी छन् । टोलीलाई कोषाध्यक्ष महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबारै बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully