प्रिन्स र रशिला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको पुरुष सिंगलतर्फ प्रिन्स र महिला सिंगलतर्फ रशिला राष्ट्रिय च्याम्पियन बनेका हुन् ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Prince and Rashila are national badminton champions.

काठमाडौँ — लामो समयपछि आयोजित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ४२ औं संस्करणमा एपीएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको पुरुष सिंगलतर्फ प्रिन्स र महिला सिंगलतर्फ रशिला राष्ट्रिय च्याम्पियन बनेका हुन् । यो राष्ट्रिय प्रतियोगिता चार वर्षपछि आयोजना भएको हो ।

फाइनलमा प्रिन्सले आर्मीका उदीयमान खेलाडी विधान अधिकारीलाई २१–१६, २१–३ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । प्रिन्स दोस्रो पटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि उनी २०७९ सालमा राष्ट्रिय च्याम्पियन भएका थिए । एपीएफका देवराज राना र आर्मीका प्रफुल महर्जन तेस्रो भए ।

महिलातर्फ रशिलाले तीन पटककी राष्ट्रिय च्याम्पियन नङ्सलदेवी तामाङलाई २१–१८, २१–१८ को सोझो सेटले हराएर उपाधि जितिन् । रशिलाको यो तेस्रो राष्ट्रिय उपाधि हो । यसअघि उनले २०७६ र २०७९ मा उपाधि जितेकी थिइन् । आर्मीका अमिता गिरी र रिहाना शेरचन तेस्रो बने । प्रिन्स र रशिला दुवैले डबल्समा पनि स्वर्ण जितेका छन् ।

रशिलाले महिला डबल्समा अमितासँग मिलेर उपाधि जितेकी हुन् । उनीहरूले कोशी प्रदेशका रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७, २१–१७ को सोझो सेटमा हराएको थियो । कोशीका नङ्सल र भावनादेवी किडम तथा नेपाल पुलिस क्लबका सीता राई र सुष्मा श्रेष्ठको जोडी तेस्रो स्थानमा रहे ।

पुरुष डबल्स फाइनलमा प्रिन्सले देवराजसँग मिलेर उपाधि जित्दा आफ्नो विभागीय जोडीलाई हराएका थिए । उनीहरूको जोडीले भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पन्छाएर स्वर्ण जितेको थियो । पुलिसका सुनिल जोशी र कविर केसी तथा बागमती प्रदेशका राजु गरञ्जा र सुमन शाक्यको जोडी तेस्रो स्थानमा विजयी भयो ।

मिक्स डबल्समा आर्मीका विधान र अमिताको जोडीले सफलता पायो । उनीहरूले आर्मीकै प्रफुल र रशिलाको जोडीलाई २१–११, २०–२२, २१–१९ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेका थिए । एपीएफका प्रिन्स र पूजा थाम्सुहाङ तथा पुलिसका कविर केसी र सुष्मा श्रेष्ठको जोडी तेस्रो स्थानमा रहे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा आर्मी क्लब ३ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । आर्मीले १ लाख रुपैयाँ पुरस्कार जित्यो । ५ स्पर्धा समावेश प्रतियोगितामा एपीएफले २ स्वर्ण जित्यो । मिक्स डबल्सको फाइनलअघि नै आर्मी टिम च्याम्पियन बन्ने निश्चित भएको थियो । अन्तिम इभेन्टको रूपमा रहेको मिक्स डबल्स आर्मीकै खेलाडीबीच हुने तय भएकाले टिम च्याम्पियन बन्ने टिम फाइनलअगावै टुंगो लागेको हो । त्यसअघि चार स्पर्धाको फाइनलमा आर्मी र एपीएफले २–२ मा सफलता पाएको थियो । सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमका १ सय १५ खेलाडीले ५ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।  

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ तथा आयोजक ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully