भारतको सिमलामा ८ देखि ११ अप्रिलमा भएको प्रतियोगितामा निश्चलले १–१ रजत र कांस्य पदक जितेका थिए ।
काठमाडौँ — दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ ।
भारतको सिमलामा ८ देखि ११ अप्रिलमा भएको प्रतियोगितामा निश्चलले १–१ रजत र कांस्य पदक जितेका थिए । उनले यू–१५ ब्वाइज डबल्समा रजत र यू–१५ ब्वाइज टिम इभेन्टमा कांस्य जितेका थिए ।
आरम्भका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले निश्चललाई प्रशंसा पत्र र मायाको चिनोसहित सम्मान गरे ।
सोही अवसरमा दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेशनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने प्राज्ना महर्जनलाई बिदाई गरिएको थियो । निश्चल कक्षा ९ र प्राज्ना कक्षा ७ मा आरम्भमै अध्ययनरत छन् । आरम्भले दुवैलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
मे २७ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालबाट प्राज्नासहित ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अन्य खेलाडीमा हिमाल विष्ट, योङगी पौडेल, सुरम्य शाक्य, रिजन शाक्य र रिभानमुनि बज्राचार्य रहेका छन् । प्रतियोगिताअघि खेलाडीले इन्चोनमै मे १६ देखि २६ तारिखसम्म याङ योङजा टेबलटेनिस मिसन इन्टरनेशनल क्याम्पमा सहभागी हुने छन् । टोली शनिबार जानेछ ।
प्रिन्सिपल श्रेष्ठले निश्चलको सफलताले विद्यालयको मात्र नभइ सिंगो राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेको बताउँदै आरम्भले प्रतिभावान खेलाडीलाई खेल यात्रा अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।
