साविक विजेता विराटनगर र कटहरी मेयर कप क्रिकेटमा विजयी

इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा सम्पन्न खेलमा विराटनगरले उदयपुरको त्रियुगा नगरपालिकालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको त्रियुगा १४ ओभर खेल्दै ५५ रनमा समेटियो ।

जेष्ठ १, २०८३

अर्जुन सुवेदी

Defending champions Biratnagar and Katahari win Mayor's Cup cricket

सुनसरी — तेस्रो मेयर कप अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा मोरङको विराटनगगर महानगरपालिका र कटहरी गाउँपालिका विजयी भएका छन् ।

इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा सम्पन्न खेलमा विराटनगरले उदयपुरको त्रियुगा नगरपालिकालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको त्रियुगा १४ ओभर खेल्दै ५५ रनमा समेटियो । 

पप्पु यादवले ३२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका दिपेश कँडेल, मेहबुब बाबु इराकी र अमर यादवले समान ३–३ विकेट लिएर त्रियुगाको इनिङ ध्वस्त पारे । 

जवाफमा ५६ रनको झिनो विजयी लक्ष्य विराटनगरले ५ दशमलव ३ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । विराटनगरका रितिक कामतले नटआउट २३ रन बनाए । विराटनगरले १९ रन अतिरिक्त पाएको थियो । खेलको प्लेयर अफ द म्याच मेहबुब बाबु इराकी घोषित भए । 

शुक्रबार नै भएको पहिलो खेलमा कटहरीले मोरङको सुन्दरहरैचा नगरपालिकालाई ५० रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कटहरीले ओसिलो पिचको कारण १४ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

कटहरीका लागि लव कामतले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४६ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गर्दै अविजित पारी खेले । त्यस्तै रबिन्द्र यादवले २७ बलमा ३६ रनको योगदान दिए । दीपु भुजेल १५ रनमा अविजित रहे । सुन्दरहरैचाका बलरमध्ये अनिल लामिछानेले ३ विकेट लिए । जवाफमा १३४ रनको लक्ष्य पछ्याएको सुन्दरहरैचा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । 

सुन्दरहरैचाका आदित्य बिक र ज्ञातब्य सुवेदीले समान १४–१४ रन जोडे । अनिल लामिछाने १३ रन बनाए । कटहरीका बलरहरूको कसिलो प्रदर्शनका कारण सुन्दरहरैचाका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । प्रेम कामत, अभय कामत र लब कामतले समान २–२ बिकेट हात पारे । खेलको प्लेयरअफ द म्याच  लब कामत घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ हात पारे ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Link copied successfully