टस हारेर ब्याटिङका लागि आएको स्कटल्यान्डले ४७ ओभरमा छोट्याएको खेलमा ६ विकेट गुमाई ३ सय २१ रन बनाएको थियो ।
काठमाडौँ — स्कटल्यान्ड निकट प्रतिद्वन्द्वी अमेरिकालाई बिहीबार डकवर्थ लुइस पद्धतिका आधारमा २ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग २ को शीर्ष स्थानमा पुगेको छ । स्कटल्यान्डले पहिलो खेलमा पनि नेपाललाई २ रनले नै पराजित गरेको थियो ।
टस हारेर ब्याटिङका लागि आएको स्कटल्यान्डले ४७ ओभरमा छोट्याएको खेलमा ६ विकेट गुमाई ३ सय २१ रन बनाएको थियो । जवाफमा आएको अमेरिकाले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा २६.४ ओभरमा १ सय ६० रन बनाएको समयमा वर्षाले खेल बिथोलिएको थियो ।
त्यसपछि अमेरिकालाई ३२ ओभरमा २ सय ४९ रनको नयाँ लक्ष्य दिएको थियो । अमेरिकाले ८ विकेट गुमाई २ सय ४६ रनमात्र बनाउन सक्यो । खेल रोकिदा अमेरिकाका साइतेजा मुकामल्ला ५९ बल खेली ५६ र मिलिन्द कुमार ४ रन बनाई क्रिजमा थिए । खेल पुनः सुरु भएपछि मिलिन्द आफुले सामना गरेको पहिलो बलमै आउट भए ।
मुकामल्लाले उत्कृष्ट इनिङ्स खेल्दै अमेरिकालाई विजय नजिक पुर्याए । उनले ७५ बल खेली ५ चौका र ८ छक्का प्रहार गरे । शुभम रन्जने ९ बलमा १६, जसदिप सिंह ४ रनमा आउट भए । हरमित सिंह १ बल खेली ६ र मोहम्मद मोहसिन ३ बल खेली ८ रनमा अविजित रहे ।
ओपनर सायन जहाँगिर ४ र कप्तान मोनान्क पटेल १२ रनमा आउट भएका थिए । अर्का ओपनर स्मित पटेलले ७२ रन बनाए । उनले ५६ बल खेली १२ चौका र १ छक्का प्रहार गरे । सेहन जयसुर्या १३ बल खेली ९ रनमा आउट भए । स्कटल्यान्डका ब्राड करी, मार्क वाट, साफयान सरिफ र ओलिभर डेबिडसनले १–१ विकेट लिए ।
खेलअघि दुवै टोलीको समान ३६ अंक थियो । यस नतिजापछि स्कटल्यान्डको ३० खेलमा ३८ र अमेरिका २५ खेलमा ३६ अंक भएको छ । २०२३ मा नेपाली भूमिमै स्कटल्यान्डले लिग २ को उपाधि जितेको थियो ।
यसअघि फिन्ले म्याकक्रिथ, ब्रान्डन म्याकमुलेन र म्याथ्यु क्रसको अर्धशतकमा स्कटल्यान्डले कीर्तिपुरमा एकदिवसीय अन्तर्राष्ट्रियको उच्च स्कोर बनाएको थियो । यसअघि सन् २०२३ मा यूएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो । अघिल्लो खेलका हिरो जर्ज मन्सी २६ बल खेली २ चौका र १ छक्का प्रहार गरी २० रनमा आउट भए पनि आक्रामक ब्याटिङ गर्दै स्कटल्यान्डले ठुलो योगफल बनाएको थियो ।
म्याकमुलेनले ४० बल खेली ५ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाए । कप्तान रिची बेरिङटन १० रनमै आउट भए । ओपनर म्याकक्रिथले १ सय २ बल खेली ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए । माइकल इंग्लिसले ३५ बल खेली १ चौका र २ छक्कासहित ३२ र क्रसले ३२ बल खेली ८ चौका र २ छक्कासहित ५८ रन बनाए ।
वाट १३ बल खेली २ चौका र १ छक्का प्रहार गरी २५ र माइकल लिस्क १२ बल खेली १ चौका र ३ छक्का प्रहार गरी २८ रनमा अविजित रहे । यी दुईले २१ बलमा ५० रनको अविजित साझेदारी गरे । अमेरिकाबाट सौरभ नत्राभाल्करले ९ ओभरमा ४४ र जसदिप सिंहले १० ओभरमा ७७ रन खर्चेर २–२ विकेट लिए । मिलिन्द र शुभम रन्जनेले १–१ विकेट लिए ।
मैदान भिजेका कारण खेल १ घन्टा ढिला १०.३० बजे सुरु भएपछि ४७–४७ ओभरमा छोट्याइएको थियो ।
