१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी घोषित

बिहीबार पोखरामा आयोजित कार्यक्रममा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कृष्ट बनेका प्रदीप र नारायणीले अवार्डसँगै हिरो जुम स्कुटर पनि प्राप्त गरे ।

वैशाख ३१, २०८३

दीपक परियार

10th Pokhara Sports Awards: Pradeep and Narayani declared Players of the Year

पोखरा — खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित १० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कृष्ट बनेका प्रदीप र नारायणीले अवार्डसँगै हिरो जुम स्कुटर पनि प्राप्त गरे ।

पुरुष विधाको अन्तिम मनोनयनमा जुडोका विज्ञान टी खत्री र भलिबलका सञ्जुविक्रम शाह थिए । महिलातर्फ जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर मनोनयनमा परेका थिए ।

पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी राजन दर्लामी मगरले जितेका छन् । उनले पनि अवार्डसँगै हिरो जुम स्कुटर प्राप्त गरे । उक्त विधामा फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका विपित खत्री मनोनयनमा थिए । खल्ती एपमार्फत प्राप्त दर्शक मतका आधारमा दर्लामी विजेता बनेका हुन् ।

यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्ड एथ्लेटिक्स खेलाडी टीकाबहादुर बोगटीलाई प्रदान गरिएको छ । दुई पटक ओलम्पिकमा सहभागिता जनाएका बोगटीलाई चाँदीको करुवा, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

10th Pokhara Sports Awards: Pradeep and Narayani declared Players of the Year

अवार्डअन्तर्गत कास्की जिल्ला क्रिकेट संघ वर्ष उत्कृष्ट खेल संघ घोषित भयो । ब्याडमिन्टनकी निभा राई वर्ष उदीयमान खेलाडी, पारा खेलाडी सुस्मा तामाङ स्पेसल अवार्ड, एथ्लेटिक्सका सिद्धान्त अधिकारी उत्कृष्ट प्रशिक्षक तथा दीननाथ बराल उत्कृष्ट खेल पत्रकार घोषित भए । उनीहरूले नगद ३५ हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे ।

अवार्ड विजेताहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतले सम्मान गरेका थिए ।

10th Pokhara Sports Awards: Pradeep and Narayani declared Players of the Year

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी बढाइरहेको बताए । गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक भत्ता उपलब्ध गराइरहेको उल्लेख गर्दै उनले मुस्ताङमा हाईअल्टिच्युड खेल मैदान निर्माणको काम संघ र प्रदेश सरकारको सहकार्यमा अघि बढिरहेको जानकारी दिए । ‘गण्डकी प्रदेशलाई साहसिक खेलमार्फत विश्वमाझ चिनाउने लक्ष्य हाम्रो छ,’ उनले भने ।

महानगर प्रमुख पोखरा इभेन्टको सहरका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै पोखरा स्पोर्ट्स अवार्डले सहरको खेलकुद गतिविधिमा थप रौनक ल्याएको बताए । उनले अवार्डलाई पोखरा महानगरपालिकाले संस्थागत रूपमा अभिभावकत्व दिने विषयमा कार्यपालिकामा छलफल भइरहेको पनि जानकारी दिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully