इटहरी रातोले सुनसरीकै दुहबी नगरपालिकालाई १० विकेटको हरायो । इटहरीस्थित डीभीएम स्कुलको मैदानमा टस जितेर ब्याटिङ गरेको दुहबीले २० ओभरमा १० विकेट गुमाई ३६ रन बनायो ।
सुनसरी — इटहरीमा बुधबार सुरु तेस्रो मेयर कप अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा इटहरी उपमहानगरपालिकाले विजयी सुरुआत गरेको छ ।
इटहरी रातोले सुनसरीकै दुहबी नगरपालिकालाई १० विकेटको हरायो । इटहरीस्थित डीभीएम स्कुलको मैदानमा टस जितेर ब्याटिङ गरेको दुहबीले २० ओभरमा १० विकेट गुमाई ३६ रन बनायो । कमजोर प्रदर्शन गरेको दुहबीलाई कम स्कोरमा समेट्न इटहरीका बलरहरू प्रभावशाली देखिए । विकल्प आचार्य, कप्तान भूपाल लुइँटेल र प्रकाश कार्कीले ३–३ विकेट लिएको खेलमा दुहबीका बिशाल ढकालले १२ रन बनाउँदा सूर्य रौनियारले ८ रन मात्र बनाए । दुहबीका ४ ब्याटर शून्यमै पेभेलियन फर्किए ।
जवाफमा ३७ रनको सामान्य लक्ष्य पछ्याएको इटहरी उपमहानगरले मात्र १.५ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इटहरीका शिवांश बजगाईंले आक्रामक ब्याटिङ गर्दै ९ बलमा ५ चौका र २ छक्कासहित अविजित ३३ रन बनाए । ऋतेश राय ५ रनमा अविजित रहे । दुहबीका बलर रमेश चौधरी र अमन अली महँगा साबित भए । अमनले २४ रन खर्चिए । प्लेयर अफ द म्याच इटहरीका विकल्प आचार्य घोषित भए । उनले १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
बिहीबार भोक्राह नरसिंह गाउँपालिका र इटहरी नीलो तथा मेचीनगर पालिका र धरान उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले बताए ।
५ जेठसम्म चल्ने प्रतियोगितामा कोसीका १२ पालिकाको सहभागिता छ । आइडियल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार पुरस्कार पाउनेछ । प्लेयर अफ द सिरिजलाई ७ हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही ४ हजार प्रदान गरिनेछ । अघिल्लो दुवै संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो ।
