दलबहादुर र सुनमायालाई छैटौं ट्रेल रनको उपाधि

दलबहादुरले १६ किलोमिटरको दूरी १ घण्टा १५ सेकेण्डमा पूरा गरे भने सुनमायाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

वैशाख ३०, २०८३

डीबी बुढा

Dal Bahadur and Sunmaya win sixth trail run title

What you should know

जुम्ला — मुगुको रारा तालमा आयोजित छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर कुँवर र सुनमाया बुढाले जितेका छन् । नेपाली सेनाको आयोजनामा भएको १६ किलोमिटरको सो ट्रेल रनमा पुरुषतर्फ दलबहादुर र महिलातर्फ सुनमायाले उपाधि उचालेका हुन् ।

दलबहादुरले १६ किलोमिटरको दूरी १ घण्टा १५ सेकेण्डमा पूरा गरे । सुनमायाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गरेको लोकेन्द्र गिरीले जानकारी दिए । 

उनका अनुसार पुरुषतर्फ युवकराज बुढाले १ घण्टा ५९ सेकेण्ड उक्त दूरी पूरा गरेर रजत पदक र अक्कल बडुवालले १ घण्टा ३ मिनेट ५५ सकेण्ड दूरी पार गर्दै कास्य पदक जिते । महिलातर्फ १ घण्टा १५ मिनेट १ सेकेण्डमा दूरी पार गर्दै राममाया बुढाले रजत पदक र १ घण्टा २७ मिनेट २८ सेकेण्डमा दूरी पूरा गरी सुनसरी रोकायाले कास्य पदक जितिन् । रोकाया वैशाख २६ मा सकिएको जुम्ला रारा अल्ट्रा म्याराथनमा महिलातर्फ रजत पदक विजेता हुन् । 

रारा ट्रेलमा प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कारले सम्मानित गरिएको छ । 

ट्रेल रनमा ३ सय १२ जना पुरुष र ४९ जना महिला धाविकाले भाग लिएका थिए । यता ५ किलोमिटर दूरीको दौडमा पुरुषतर्फ देवीराज रोकाया र महिलातर्फ मनीषा रावल विजेता बने । देवीराजले ५ किलोमिटर दूरी २१ मिनेट ९ सेकेण्डमा पार गरे । मनीषाले सोही दूरी ३३ मिनेट ३७ सेकेण्डमा पार गरेको आयोजक नेपाली सेनाले जनाएको छ ।

यसैगरी पुरुषतर्फ सुशील विकले २१ मिनेट २६ सेकेण्डमा दूरी पार गर्दै रजत पदक र लोकबहादुर भण्डारीले २२ मिनेट ५२ सेकेण्डमा दूरी पार गरेर कास्य पदक हात पारे । महिलातर्फ ३३ मिनेट ४५ सेकेण्डमा दूरी पार गर्दै पुष्पा रोकायाले कास्य पदक जितिन । ५ किलोमिटर रनमा ३१ जना पुरुष र १५ जना महिलाले भाग लिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मले जानकारी दिएको छ । 

खेल क्षेत्रमा युवकयुवतीको आकर्षण बढाउन, कर्णाली खेल पर्यटनका हिसाबले पनि सम्भावनायुक्त क्षेत्र भएको चिनाउन र खेलाडीको प्रतिभा पहिचानका लागि यो प्रतियोगिता हरेक वर्ष आयोजना भइरहेको छ । यो रारा ट्रेल रनले नागरिक–सैनिक सम्बन्धलाई बलियो बनाउने अपेक्षा राखिएको छ । नेपाली सेनाले फोटो प्रर्दशनी, खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । 

नेपाली सेनाको हनुमान ध्वज गुल्मले आयोजना गरेको सो रनमा उपरथी दिपेशजंग शाह र कीर्तिमानी धावक हरिबहादुर रोकायाले पुरस्कार प्रदान गरेका थिए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully