स्कटल्यान्डले टस जित्यो, नेपालको फिल्डिङ 

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई फिल्डिङका लागि बोलाएका हुन् ।

वैशाख २९, २०८३

विनोद पाण्डे

Scotland wins the toss, Nepal chooses to field

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई फिल्डिङका लागि बोलाएका हुन् । 

नेपालले गत मंगलबार ओमानमाथि विजय हात पारेको टोलीलाई नै प्लेयिङ ११ मा राखेको  छ । रोहित पौडेलको कप्तानीमा नेपालबाट विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीलाई खेलिरहेको छन् ।

इशान पाण्डेल एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ‘डेब्यु’ का लागि अर्को खेल पर्खनु पर्ने भएको छ । इशानसँगै सोमपाल कामी, भीम सार्की र कुशल भुर्तेल प्लेयिङ ११ बाहिर रहेका छन् । 

स्कटल्यान्डले आफ्नो प्रमुख तीब्र बलर साफयान सरिफलाई खेलाएको छैन । स्कटल्यान्डको टोलीमा रहेका जर्ज मुन्सी, ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लिस्कस“ग नेपाल प्रिमियर लिग (एनपीएल) मा विभिन्न फ्रेन्चाइजबाट खेलेको अनुभव छ । 

लिग २ मा स्कटल्यान्ड २८ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २४ खेलमा १८ अंक जोडेर सातौं स्थानमा छ । 

सन् २०२३ मा स्कटल्यान्ड काठमाडौं आएर लिग २ मा खेल्दा दुवै खेलमा नेपालसँग पराजित रहेको थियो । तर त्यही शृंखलामा नामिबियालाई पराजित गर्दै नेपाली भूमीमा स्कटल्यान्डले २०१९–०२३ को लिग २ सर्कलको उपाधि जितेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully