पञ्चकन्या रुपन्देही सुपरलिग: वेष्टर्नद्वारा बुद्ध ९ विकेटले पराजित

वेष्टर्न क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।

वैशाख २८, २०८३

माधव ढुंगाना

Panchakanya Rupandehi Super League: Western defeats Buddha by 9 wickets

भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७७ रन बनायो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ तथा सन्देश थापा र कलम मुसलमानले १–१ विकेट लिए । 

बुद्धका मिथलेश यादव र दिलसाद अलीले १५–१५ तथा गौतम केसीले १० रन बनाए । अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउदै सहजै जित हात पार्यो । उसका लागि प्रज्जवल थापाले अविजित ४७ र रन्जित खड्काले नटआउट २८ रन बनाए । 

बुद्धका विपिन शर्माले १ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully