जिल्ला क्रिकेट संघ कालीकोटको समन्वय र मान्म बजार क्रिकेट समूहको सहयोगमा संचालित प्रतियोगितामा ७ वटा विद्यालय सहभागी थिए ।
कालीकोट — खाडाचक्र नगरपालिका–५ राताडाबमा संचालित अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कालिका मावि पिलीले जितेको छ । चुलिमालिका मावि घोडेना उपविजेता बनेको छ ।
जिल्ला क्रिकेट संघ कालीकोटको समन्वय र मान्म बजार क्रिकेट समूहको सहयोगमा संचालित प्रतियोगितामा ७ वटा विद्यालय सहभागी थिए । विद्यालय स्तरीय छनोट प्रतियोगिता आयोजना गरेर खेलाडीको पहिचान गरिएको जिल्ला क्रिकेट संघ कालीकोटका सदस्य पवन बमले बताए ।
खेल मैदानको अभाव भएको कालीकोटमा खाडाचक्र–५ राताडावस्थित स्थानीय मनरुप हमालको खाली भएको गहुँबारीलाई मैदानकोरुपमा प्रयोग गरिएको थियो । गहुँ काटिसकेकाले युवाहरुले क्रिकेट खेल्ने रहर गरेकाले आफूले जग्गा उपलब्ध गराएको जग्गाधनी हमालले बताए ।
शनिबारदेखि ३ दिनसम्म संचालन भएको अन्तर विद्यालय स्तरीय क्रिकेटमा सबैभन्दा बढी विकेट लिन सफल कालिका मावि पिलीमा छात्र लोकेश सिम्खाडा बेष्ट बलर घोषित भए भने सर्वाधिक रन बनाएर चुलिामालिका मावि घोडेनाका छात्र प्रकाश खत्री बेष्ट ब्याट्सम्यान बने ।
कालीकोटमा पहिलो पटक आयोजना भएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा सहभागी भएर खेल्न पाएकोमा खुसी लागेको जनजीवन मावि ताडीका छात्र विवेक पाण्डेले बताए । क्रिकेटमा जनवीवन मावि ताडी, तिलागुफाको कालिका मावि छाप्रे, पञ्चदेव मावि मान्म, महाबैको कालिका मावि गेला र पचालझरना गाउँपालिकाको पञ्चकालिका मावि बाझकोटका खेलाडी सहभागी थिए ।
