बुटवलमा महिला फुटबल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब विजयी

ट्रिनिटीले पद्या स्पोर्ट्स क्लब, ओखलढुंगालाई १–० गोलले पराजित गरेको हो ।

वैशाख २६, २०८३

घनश्याम गौतम

Women's football in Butwal: Defending champion Trinity Club wins in the opening match

बुटवल — बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, स्याङ्जा विजयी भएको छ । ट्रिनिटीले पद्या स्पोर्ट्स क्लब, ओखलढुंगालाई १–० गोलले पराजित गरेको हो । 

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा बालिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । खेल सुरु भएको छैटौं मिनेटमा भूमिका बुढाथोकीले गोल गरिन् । दिक्षा रनपालले डिबक्सको दायाँ कर्नरबाट निकालेको बललाई भूमिकाले वान टचमा गोल गरेकी हुन् । 

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको २० औं मिनेटमा पद्मा क्लबले पेनाल्टी पाएको थियो । तर, पोषणी बोहोराले गोल गर्न सकिनन् । 

खेलमा पद्मा क्लबले पोष्ट आक्रमण धेरै गरे पनि ट्रिनिटी क्लबकी गोलकिपर सावित्री किसानले मौका दिइनन् । खेलमा ट्रिनिटीकी गोलरक्षक किसानले प्ले अफ द म्याच हुँदै नगद ५ हजार पनि जितेकी छन् । 

आइतबार आयोजक बिस पचहत्तर युवा क्लब बुटवल र अभिषेक चर्च नवलपुरबीच प्रतियोगिता हुने सचिव दिपक गुरुङले बताए । 

बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिता उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । प्रतियोगिताको पुरस्कार राशसमा यस वर्ष वैद्धि गरिएको छ । प्रतियोगिता विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले ५ हजार नगद पाउने छन् । 

जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोर्ट्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौंडा र आयोजक बीस पचहत्तर युवा क्लब सहभागी छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully