कोहलपुर-२ स्थित कोहलपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि हात पारेको हो ।
What you should know
नेपालगञ्ज — चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहारा क्लबले जितेको छ । कोहलपुर-२ स्थित कोहलपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पहिलो हाफको पाँचौं मिनेटमै सहाराका चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरे । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
पेनाल्टीमा समेत नतिजा बराबर भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा सहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जीव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए ।
विजेता सहारा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित आठ लाख रुपैयाँ हात पार्यो । उपविजेता नेपाल पुलिस क्लबले मेडल, प्रमाणपत्रसहित चार लाख रुपैयाँमै चित्त बुझायो । विधागततर्फ कोहलपुर रेसिङ सहाराका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ हात पारे ।
सहारा क्लबका प्रशिक्षक जनक केसीले उत्कृष्ट प्रशिक्षक बन्दै मेडल, प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे । सहारा क्लबका चेतन चौधरी वेष्ट डिफेन्डर र सहाराकै लक्ष्मण राना मगर राइजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद १०/१० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल पुलिस क्लबका शत्रुधन चौधरी बेष्ट गोलकिपर, नेपाल पुलिस क्लबका रामवाजी वेष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारु वेष्ट फरवार्ड उच्च गोलकर्ता बन्दै समान १०/१० हजार रुपैयाँ प्राप्त गरे ।
वैशाख १९ गतेदेखि सुरु भएको चौथो कोहलपुर गोल्डकपमा आठ टिम सहभागी थिए ।
