टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीले ७३ रनको लक्ष्य ९ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो।
भैरहवा — लुम्बिनी खुकुरी क्लबका बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि भैरहवामा जारी पञ्चकन्या रुपन्देही सुपरलिगअन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार विजय हासिल गरेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सञ्चालित उक्त प्रतियोगितामा खुकुरी क्लबले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जित निकालेको हो ।
टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ९ ओभर बलिङ गर्दै २ मेडनसहित ३४ रन खर्चेर महत्त्वपूर्ण ९ विकेट लिए । अजय चौहानले १ विकेट लिन सफल भए । खान ‘प्लेयर अफ द म्याच’ भए । बुटवल राइनोजका उत्तम थापा मगरले १७ र सुशान्त शाक्यले १० रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
लुम्बिनी खुकुरीले ९ ओभर ४ बलमा १ विकेट गुमाउँदै ७३ रन बनाएर सहजै जित निकाल्यो । उसका लागि समीर अली मुसलमानले ६ चौका र २ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै, अजय चौहानले नटआउट १७ रन बनाए । बुटवल राइनोजका सुमित थापाले १ विकेट लिए ।
