लोकेशले बेल्जियम लिग खेल्ने

ईयु टी–२० लिगको फ्रेन्चाइज टोली एन्टवर्प एन्कर्सले शुक्रबार लोकेशलाई अनुबन्ध गरेको घोषणा गरेको हो । लोकेशलाई साद नवाजको स्थानमा ल्याइएको छ ।

वैशाख २६, २०८३

कान्तिपुर संवाददाता

Lokesh to play in Belgian league

काठमाडौँ — नेपालका ब्याटर लोकेश बमले बेल्जियमको ईयु टी–२० लिग खेल्ने भएका छन् । ईयु टी–२० लिगको फ्रेन्चाइज टोली एन्टवर्प एन्कर्सले शुक्रबार लोकेशलाई अनुबन्ध गरेको घोषणा गरेको हो । लोकेशलाई साद नवाजको स्थानमा ल्याइएको छ । 

एन्टवर्प एन्कर्सबाट अर्का ब्याटर आसिफ शेख पनि खेलिरहेका छन् । फेब्रुअरीमा भएको ट्वान्टी–२० विश्वकपमा आसिफ नेपालको प्रमुख विकेटकिपर पनि थिए भने लोकेश दोस्रो रोजाइको विकेटकिपर । लोकेशले मध्यक्रममा खेल्दै इंग्ल्यान्डविरुद्ध मुम्बईमा २० बलमा अविजित ३९ रन बनाएका थिए, त्यसका बाबजुद नेपाल ४ रनले पराजित भएको थियो । 

लोकेशले पहिलो पटक विदेशी लिगमा खेल्न लागेका हुन् । लोकेशले नेपालबाट २३ ट्वान्टी–२० अन्तर्राष्ट्रियको १८ इनिङ्समा २ सय १५ रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १४३ भन्दा माथि छ ।

इंग्ल्यान्डविरुद्धको त्यो ३९ रन नै उनको उच्च स्कोर हो । २०२४ मा विश्वकपको ठीक अगाडि आयरल्यान्ड ‘ए’ नेपाल भ्रमणमा आउँदा लोकेशले एक खेलमा १ सय ६ रन बनाएका थिए । पछिल्ला तीन वर्षमा नेपाली खेलाडीले ट्वान्टी–२० मा बनाएको यही एक शतक हो । 

ईयु टी–२० लिगमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विभिन्न फ्रेन्चाइजबाट १० खेलाडीहरू खेलिरहेका छन् । 

कान्तिपुर

Link copied successfully