शनिबार भएको फाइनलमा रुपन्देहीको देवदह ब्यायजलाई ट्राइ ब्रेकरमा ७–६ ले पछि पार्दै लिस्नुले उपाधि जितेको हो
पाल्पा — तानसेनमा आयोजित चौथो न्यू युथ युनियन कप फुटबल प्रतियोगिताको उपाधि लिस्नु क्लब रुपन्देहीले जितेको छ । शनिबार भएको फाइनलमा रुपन्देहीको देवदह ब्यायजलाई ट्राइ ब्रेकरमा ७–६ ले पछि पार्दै लिस्नुले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइब्रेकरको सहारा लिनु परेको थियो ।
रुपन्देहीको लिस्नु युवा क्लबका गोलरक्षक विशाल सुनार फाइनल अफ दि म्याच भए । प्रतियोगिताको विजेतालाई १ लाख ५५ हजार ५५५, उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र, मेडल तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र आयोजक न्यू युथ युनियनका अध्यक्ष तामबहादुर कुमालले प्रदान गरे ।
उत्कृष्ट खेलाडी लिस्नुका गोलरक्षक विशाल सुनारले ८ हजार, उत्कृष्ट गोलरक्षक देवदहका विशाल केसी, उदीयमान खेलाडी न्यू युथ युनियन क्लब पाल्पाका एन्जल दर्लामी, सर्वाधिक गोलकर्ता मनोभाव क्लब रुपन्देहीका आवेश शाही, उत्कृष्ट रक्षक लिस्नुका विशाल शाहीले समान ५/५ हजार नगदका साथै मायाको चिनो पाए ।
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले खेलकुदको क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गरेको बताए । मेयर कपलगायत प्रतियोगितामा पनि नगरपालिकाको सहयोग रहेको उनले बताए ।
वैशाख १५ देखि सुरु भएको प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासीका १२ क्लबको सहभागिता रहेको थियो ।
