धीरले जुम्ला खलंगाको चन्दननाथ मन्दिरदेखि रारातालसम्मको ५४ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट ८ सेकेन्डमा पार गर्दै स्वर्णपदक जितेका हुन् । महिलातर्फ कल्पनाले ७ घण्टा ७ मिनेट १२ सेकेन्ड लगाएर दूरी पार गरेकी थिइन् ।
What you should know
जुम्ला — सातौं जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धीर बुढा र महिलातर्फ कल्पना बुढाले प्राप्त गरेका छन् । धीरले जुम्ला खलंगाको चन्दननाथ मन्दिरदेखि रारातालसम्मको ५४ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट ८ सेकेन्डमा पार गर्दै स्वर्णपदक जितेका हुन् । महिलातर्फ कल्पनाले ७ घण्टा ७ मिनेट १२ सेकेन्ड लगाएर दूरी पार गरिन् ।
कर्णाली स्पोर्ट्स क्लब जुम्लाका सचिव मधुराज न्यौपानेका अनुसार पुरुषतर्फ होमलाल श्रेष्ठले ६ घण्टा ११ मिनेट २२ सेकेन्ड लगाएर दोस्रो स्थान हात पारे । गोपाल तामाङले सोही दूरी ६ घण्टा १३ मिनेट ३४ सेकेन्डमा पार गरेर तृतीय स्थान हासिल गरे । चन्द्र रावत र मिलन राई क्रमशः चौथो र पाँचौं भए ।
यता महिलातर्फ सुनसरी रोकायाले ७ घण्टा १८ मिनेट ५३ सेकेण्डमा सो दूरी पार गरेर रजत पदक जितिन् । सन्देवा बुढाले ७ घण्टा ३८ मिनेट ४७ सेकेन्ड लगाएर कास्य पदक जित्न सफल भइन् । महिलातर्फ राज्यलक्ष्मी रावल र पुष्पा सेर्माले क्रमशः चौथो र पाँचौं स्थान प्राप्त गरे ।
म्याराथनका बिजेता खेलाडीलाई आइतबार बिहान रारातालको छेउमै पुरस्कार प्रदान गरिने सचिव न्यौपानेले जानकारी दिए ।
म्याराथनमा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई जनही एक/एक लाख नगद पुरस्कार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय हुनेलाई जनही नगद ७५ हजार नगदसहित सिल्भर पदक, प्रमाणपत्र, तृतीय हुनेलाई जनही ५० हजार रुपैयाँ नगद, कास्य पदक र प्रमाणपत्र प्रदान गरिनेछ । क्रमशः चौथो र पाँचौं हुनेलाई नगद २० हजार रुपैयाँ, फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक कर्णाली स्पोटर््स क्लब जुम्लाले जनाएको छ ।
म्याराथनका लागि ६० जनाले स्वास्थ्य चेक गराएकामा ४९ जना मात्रै दौडिएका थिए । सचिव न्यौपानेले रारातालसम्म ४५ जना मात्रै पुगेको बताए । बिहान ६ बजेदेखि चन्दननाथ मन्दिरदेखि म्याराथन सुरु भएको थियो । म्याराथनमा भारत र फ्रान्सका एक/एक जना धावक सहभागी थिए ।
जुम्लादेखि रारासम्म पुग्ने खेलाडीहरूको सम्झनामा संख्याका आधारमा वृक्षारोपण गर्ने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । दौडमा भाग लिने खेलाडी र व्यवस्थापनमा खटिनेहरूको पाँच लाख बराबरको दुर्घटना बिमा गरिएको थियो । धावकलाई बिहानै पञ्चेबाजाले स्वागत गरिएको थियो । म्याराथनसँगै १० किलोमिटर र पाँच किलोमिटर दौडको आयोजना गरिएको थियो ।
१० किलोमिटरमा पुरुषतर्फ बसन्त बुढा प्रथम, नवीन परियार दोस्रो तथा राज भण्डारीले तेस्रो स्थान प्राप्त गरे । महिलातर्फको १० किलोमिटर दौडमा सपना बुढा प्रथम, सुस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो भइन् । विजेता खेलाडीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।
यता पाँच किलोमिटर दौडतर्फ नोर्भु राना प्रथम, नरेश रावत दोस्रो तथा नवराज महताराले तेस्रो स्थान प्राप्त गरे । बालिकातर्फ कृतिका सुनार प्रथम, एमुना बुढा द्वितीय र खुसी बुढाथोकी मगर तृतीय भए ।
