चित्लाङलाई आठौं बागमती गोल्डकपको उपाधि

बागमती गाउँपालिकास्थित सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा शनिबार भएको फाइनलमा सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोलले हराउँदै चित्लाङले उपाधि हात पारेको हो ।

वैशाख २६, २०८३

प्रताप विष्ट

Chitlang wins eighth Bagmati Gold Cup title

हेटौंडा — चित्लाङ एफसी काठमाडौंले आठौं राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

बागमती गाउँपालिकास्थित सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा शनिबार भएको फाइनलमा सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोलले हराउँदै चित्लाङले उपाधि हात पारेको हो । चित्लाङका लागि एरोन थापाले खेलको दोस्रो मिनेटमा, विदेशी खेलाडी सोलोमन किङले १७ औं र ४८ औं मिनेटमा गोल गरे । अर्को एक गोल समीर तामाङले खेलको ७७ औं मिनेटमा गरे । समीर प्लेयर अफ दि म्याच घोषित भए । विजेता चित्लाङले १० लाख र उपविजेता बागमतीले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

चित्लाङका लक्ष्मण थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चित्लाङका प्रिसो, उत्कृष्ट डिफेन्डर बागमतीका आयुष मगर, उत्कृष्ट मिडफिल्डर बागमतीकै अनिष महर्जन, उत्कृष्ट फरवार्ड चित्लाङला एरोन थापा र उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ पाए ।

विजेता, उपविजेतालाई बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रतियोगिताका संयोजक रहरसिं थिङलगायतले पुरस्कार प्रदान गरे । 

बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully