‘इनसाइड फुटबल’ पुस्तक विमोचन

फुटबल खेलप्रति रुचि राख्ने बालबालिका, खेलाडी तथा खेल पत्रकारका लागि पुस्तक उपयोगी

वैशाख २५, २०८३

दुर्गालाल केसी

'Inside Football' book released

दाङ — फुटबल खेल, खेलाडी तथा खेलसम्बन्धी विविध पक्ष समेटिएको पुस्तक ‘इनसाइड फुटबल’ को विमोचन गरिएको छ ।

लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओलीले लेखेको पुस्तकको घोराही उपमहानगरपालिका–१७ उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा बिहीबार विमोचन गरिएको हो । 

पुस्तकको विमोचन नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघका  केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, नवलपुर फुटबल एकेडेमीका अध्यक्ष दीपक पुन, बडहरा फुटबल क्लबका अध्यक्ष इराक घर्तीलगायतले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै विपुल पोख्रेलले फुटबल खेलप्रति रुचि राख्ने बालबालिका, खेलाडी तथा खेल पत्रकारका लागि पुस्तक उपयोगी हुने बताए । उनले पुस्तकले फुटबललाई गहिरो रूपमा अध्ययन गर्न तथा खेलसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।  

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully