गौरीटारमा क्रिकेट मैदान तयार

मैदान परिसरमा करिब ४ सय ५० दर्शक क्षमताको प्यारापिट, पाँचवटा पिच, ७० मिटर रेडियसको खेल मैदान, स्कोरबोर्ड, भीभीआईपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टेलिभिजन तथा रेडियो प्रसारण कक्ष, मिडिया कक्ष, अपांगमैत्री संरचना र पार्किङ सुविधा निर्माण गरिएको छ ।

वैशाख २५, २०८३

सुवास विडारी

Cricket field ready in Gauritar

मकवानपुर — हेटौंडा–६ स्थित गौरीटारमा  क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको यो परियोजना दुई वर्षअघि सुरू गरिएको थियो र चालु वर्षको वैशाख मसान्तसम्ममा निर्माण कार्य पूरा भएको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणालीसहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । मैदान निर्माण कार्य २०८० चैत २० गते एसएनएस-पीएल-एचकेसी जेभीसँग ठेक्का सम्झौता गरी सुरू गरिएको थियो ।

मैदान परिसरमा करिब ४ सय ५० दर्शक क्षमताको प्यारापिट, पाँचवटा पिच, ७० मिटर रेडियसको खेल मैदान, स्कोरबोर्ड, भीभीआईपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टेलिभिजन तथा रेडियो प्रसारण कक्ष, मिडिया कक्ष, अपांगमैत्री संरचना र पार्किङ सुविधा निर्माण गरिएको छ ।

हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषद्ले जनाएको छ । मैदानमा बर्मुडा दुबोको प्रयोग गरिएको छ । मैदानको निकट भविष्यमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरी औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको सदस्य सचिव लामाले बताए । उनका अनुसार आवश्यक प्राविधिक मापदण्ड पूरा भइसकेकाले अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्नसमेत मैदान उपयुक्त रहेको छ । ‘अहिलकै अवस्थामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

परिषद्ले नेपाल क्रिकेट संघ (क्यान) सँग पिचको गुणस्तर, मैदान व्यवस्थापन तथा अन्य प्राविधिक पक्षमा सहयोग मागेको छ । क्यानले पनि आवश्यक सहयोग उपलब्ध गराइरहेको र मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि योग्य रहेको प्रारम्भिक मूल्यांकन दिएको जनाइएको छ ।

क्यानका केन्द्रीय सदस्य करण महताराका अनुसार पाँचवटै पिचलाई थप गुणस्तरीय बनाउन टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका क्युरेटरको प्राविधिक सहयोगमा काम गर्ने तयारी भइरहेको छ । ‘टीयूको पिचमा गुणस्तर कायम गर्नका लागि क्यानले बंगलादेशी क्युरेटरको सहयोग लिइरहेको छ । यहाँ पनि सोहीअनुसार गरिनेछ,’ उनले भने । 

आगामी चरणमा करिब ६ हजार दर्शक क्षमताको थप प्यारापिट निर्माण गर्ने परिषद्को योजना छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार चारवटा ब्लकमा प्यारापिट विस्तार गरिनेछ । हाल पहिलो चरणअन्तर्गत एउटा ब्लकको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी संरचना क्रमशः निर्माण गरिनेछ ।

गौरीटार रंगशाला परिसरमा क्रिकेट मैदानसँगै फुटबल मैदान, स्वीमिङ पुललगायतका संरचना निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षभित्र लन टेनिस कोर्ट, मोटर रेसिङ ट्रयाक तथा फुटबल प्रशिक्षण मैदान निर्माण सुरू गर्ने योजना पनि अघि सारिएको छ । यसका लागि प्रदेश सरकारले चालु वर्षमा ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

परिषद्का अनुसार आगामी सबै निर्माण कार्य बहुवर्षीय ठेक्का प्रणालीमार्फत अघि बढाइनेछ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully