बागमती गोल्डकप : फाइलनमा चित्लाङ एफसी र बागमती युवा क्लब भिड्दै

हेटौंडाबाट करिब ५५ किलोमिटर पूर्वमा रहेको सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा शनिबार दिउँसो ३ बजे हुने फाइनल खेललाई लिएर दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्।

वैशाख २५, २०८३

सुवास विडारी

Bagmati Gold Cup: Chitlang FC and Bagmati Yuva Club to clash in final

मकवानपुर — आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि चित्लाङ एफसी काठमाडौं र बागमती युवा क्लब सर्लाहीबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।

हेटौंडाबाट करिब ५५ किलोमिटर पूर्वमा रहेको सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा दिउँसो ३ बजे हुने फाइनल खेललाई लिएर दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्।

फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा बोल्दै चित्लाङ एफसीका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली उपाधिको हकदार रहेको बताए। अनुभवी तथा विदेशी खेलाडीको संयोजनले टोली बलियो बनेको उल्लेख गर्दै उनले फाइनलमा पनि आक्रामक खेललाई निरन्तरता दिने बताए।

यता बागमती युवा क्लब सर्लाहीका व्यवस्थापक विश्वराज लामिछानेले आफ्नो टोली विभिन्न जिल्लामा हुने प्रतियोगितामा निरन्तर सहभागी हुँदै आएकोले खेलाडीहरू अनुभवी रहेको दाबी गरे। उनले टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै आफ्नो टिमलाई 'भोको बाघ'को संज्ञा दिए।

चित्लाङ एफसीले सेमिफाइनलमा नवजनजागृति युवा क्लब सिमरालाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। बागमती युवा क्लबले भने फ्रेन्ड्स क्लब काठमाडौंलाई ट्राइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो।

सेमिफाइनलसम्मको प्रदर्शन हेर्दा चित्लाङ एफसी आक्रामक शैलीमा देखिएको छ भने बागमती युवा क्लबको टोलीगत खेल प्रभावशाली मानिएको छ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully