‘आज हामीले पर्याप्त मौका सिर्जना गर्न सकेनौं,’ नोयाले भने, ‘सायद हामीले केही मौका पनि सिर्जना गरेका थियौं, तर त्यो पनि निर्णायक हुन सकेन ।’
म्युनिक — पेरिस सेन्ट जर्मेन (पीएसजी) को हातबाट युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि बायर्न कप्तान म्यानुएल नोयाले स्विकारेका छन्, आफ्नो टिम चाहिएको बेला निर्णायक स्थिति सिर्जना गर्न असफल रह्यो । बायर्नले दोस्रो लेगको सेमिफाइनलमा पीएसजीलाई १–१ को बराबरीमा रोके पनि समग्रमा ६–५ ले पछाडि परेको थियो ।
यो सिजन बायर्नले सबै प्रतियोगितामा १ सय ७५ गोल गरेको भए पनि पीएसजीविरुद्ध त्यस्तै प्रदर्शन गर्न सकेन् । दोस्रो हाफको इन्ज्युरी समयमा ह्यारी केनले एक गोल फर्काए पनि त्यो सान्त्वना मात्र सावित भयो । ‘आज हामीले पर्याप्त मौका सिर्जना गर्न सकेनौं,’ नोयाले भने, ‘सायद हामीले केही मौका पनि सिर्जना गरेका थियौं, तर त्यो पनि निर्णायक हुन सकेन ।’
नोयाले थपे, ‘यसपल्ट हामी फाइनलको नजिक त पुग्यौं, तर थप एक पाइला चाल्न सकेन् । हामीले फर्काएको एक गोल पनि असाध्यै कम सय बाँकी छँदा मात्र हासिल भयो । त्यो गोलपछि हामीले थप अवसर नै सिर्जना गर्ने समय पनि रहेन् । त्यति बेला केही गर्ने समय नै बाँकी थिएन् ।’ इंग्लिस कप्तान केनको गोल इन्ज्युरी समयको चौथो मिनेटमा सम्भव भएको थियो ।
बायर्नले यो सिजनको बुंडेसलिगा उपाधि जितिसकेको छ र जर्मन कपको फाइनल पनि खेल्दैछ । तर च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिनु निराशाजन रहेको पनि नोयाले स्विकारे । उनले भने, ‘अहिलेका हामी हामी असाध्यै दुःखी छौं । हामीले एउटा तथ्य के मान्नु पर्छ भने हामीलाई त्यस्तो प्रतिद्वन्द्वी टिमले रोकेको छ, जुन असाध्यै बलियो र उत्कृष्ट रहेको छ ।’
‘अबको दिनमा हाम्रो प्रदर्शन अझ बढी निर्णायक सावित हुनु पर्नेछ । पीएसजीलाई मेरो बधाई छ । हाम्रो लागि यो सिजनको च्याम्पियन्स लिग अब सकिएको छ । तर अर्को सिजन राम्रो गर्ने अवसर बाँकी छ र यसै कारण हामी उत्साहित रहनु पर्छ ।’ बायर्नले अहिलेसम्म छ पल्ट च्याम्पियन्स लिगको उपाधि जितको छ र उसले अन्तिम पटक सन् २०२० मा फाइनल खेलेको थियो ।
