जुम्ला रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी दौड्दै

म्याराथनमा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई एक लाख नगद, स्वर्ण पदक र प्रमाणपत्र पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

वैशाख २३, २०८३

डीबी बुढा

One thousand athletes running in Jumla Rara Ultra Marathon

What you should know

जुम्ला — सातौं जुम्ला रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी दौड्ने भएका छन् । जुम्ला सदरमुकाम खलंगादेखि रारातालको छेउसम्म ५४ किलोमिटर दूरीमा वैशाख २६ गते हुन लागेको म्याराथनको तयारी पूरा भएको छ । 

आयोजक कर्णाली स्पोर्ट्स क्लब जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो । 

अहिलेसम्म जुम्ला रारा अल्ट्रा म्याराथनका लागि १ सय ३५ जना खेलाडीले नाम दर्ता गरेका छन् । यससँगै १० र ५ किलोमिटरको दौड पनि आयोजना हुने भएको छ । १० किलोमिटरमा २ सय र पाँच किलोमिटर दौडमा ६ सय खेलाडीले नाम दर्ता गराएका छन् । तीन विधा गरेर एक हजार जना खेलाडी यो पटक दौडिने भएका हुन् । 

म्याराथनमा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई एक लाख नगद, स्वर्ण पदक र प्रमाणपत्र पुरस्कारस्वरूप प्रदान गरिनेछ । द्वितीय हुनेलाई नगद ७५ हजार र तृतीयलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । 

यसपटकदेखि जुम्लाकी स्वर्गीय अमृता कठायतको सम्झनामा महिला खेलाडी प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद २५ हजार रुपैयाँ जनही उपलब्ध गराउनेसमेत क्लबले जानकारी दिएको छ । 

उत्कृष्ट तथा संभावनाशील खेलाडीलाई बालोदय बोर्डिङ सेकेन्डरी स्कुल कास्कीले छात्रवृत्ति कार्यक्रममा समेट्ने भएको छ । जसको छनोट कर्णाली स्पोर्ट्स क्लबले गर्नेछ । आयोजकका अनुसार जुम्लादेखि रारासम्म पुग्ने खेलाडीको सम्झनामा संख्याका आधारमा वृक्षरोपण गर्ने जनाइएको छ । दौडमा भाग लिने खेलाडी र व्यवस्थापनमा खटिनेहरूको पाँच लाख बराबरको दुर्घटना बिमा गरिएको छ । 

चन्दननाथ, भैरवनाथको आँगन, खलङ्गा बजार, जुम्लाबाट सुरु भई मुगु, रारातालको हुटु छेउमा पुगेर म्याराथन अन्त्य हुनेछ । विगतका प्रतियोगिताहरूमा विभिन्न जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकाबाट खेलाडीहरू सहभागी भएका थिए । अहिले पनि मन्जुश्री ट्रेल रेसका विजयी खेलाडी, भारत, फ्रान्सका खेलाडी जुम्ला आइपुगेका छन । 

जुम्लालाई उच्च पर्वतीय खेलकूद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गराउन हरेक वर्ष जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना भइरहेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । ‘यो म्याराथनले कर्णाली क्षेत्रका नवप्रवेशी खेलाडीलाई प्रोत्साहित गरेको छ,’ उनले भने, ‘कर्णालीमा पनि साहसिक खेल पर्यटनको सम्भावना छ भन्ने यसले दर्साइरहेको छ ।’ 

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्ला रारा म्याराथनले कर्णालीको सुन्दरता र सम्भावनालाई विश्वसामु चिनाउन योगदान पुर्‍याएको बताए । उनले सिंगो कर्णालीलाई खेल क्षेत्रका रूपमा विकास गर्न र खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न यो म्याराथन कासेढुंगा साबित हुने बताए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully