अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघले आयोजना गरेको च्याम्पियनसिपमा नेपाली टिम ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन बन्यो ।
काठमाडौँ — काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाली टिम च्याम्पियन बनेको छ ।
अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघले आयोजना गरेको च्याम्पियनसिपमा नेपाली टिम ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन बन्यो ।
१८ स्वर्ण, २७ रजत र २२ कांस्यसाथ भारत दोस्रो तथा ३ स्वर्ण, ४ रजत र १ कांस्यसाथ इन्डोनेसिया तेस्रो भए । च्याम्पियनसिपमा नेपालकी अमृता तामाङले फेयर प्लेको अवार्ड पाइन् भने उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लोल पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
हिमालयन अन्तर्राष्ट्रिय खुला सभात च्याम्पियनसिपतर्फ न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलु भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र फ्रान्सबाट आएका अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगुले प्रतियोगिताको उद्घाटन गरेका थिए । सोमबार सम्पन्न प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३ सय खेलाडी सहभागी थिए ।
अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष दुइगुले नेपालले सफल रूपमा प्रतियोगिता आयोजना गरेर सहभागी राष्ट्रको विश्वास जितेको र भविष्यमा विश्वस्तरका अन्य प्रतियोगितासमेत आयोजना गर्न नेपाल सक्षम रहेको सन्देश विश्वसामु दिएको बताए । आठौं एसियन सभात च्याम्पियनसिप आयोजनाका लागि इन्डोनेसियाले प्रस्ताव गरेको पनि बस्नेतले जानकारी दिए ।
