मछिन्द्रलाई हराउँदै बागमती गोल्डकपको सेमिफाइनलमा चित्लाङ एफसी

चित्लाङ एफसीले काठमाडौंको मछिन्द्र एफसीलाई १–० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो ।

वैशाख २२, २०८३

प्रताप विष्ट

Chitlang FC advances to Bagmati Gold Cup semifinals after defeating Machhindra

हेटौँडा — मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । बागमती गाउँपालिकास्थित सहिद स्मृति रंगशालामा मंगलबार भएको खेलमा चित्लाङ एफसीले काठमाडौंको मछिन्द्र एफसीलाई १–० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो । 

चित्लाङको जितमा एरोन थापाले ८६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्लेयर अफ दि म्याच थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । हारसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्र छैठौं बागमती गोल्डकपको विजेता हो भने गत संस्करणको उपविजेता टोलीसमेत हो । सेमिफाइनल प्रवेश गरेको चित्लाङले बिहीबार सिमराको नव जनजागृती क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू वुधवारदेखि सुरु हुनेछ । पहिलो सेमिफाइनलमा बुधबार फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल वैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र बिधागत उत्कृष्टहरूले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १० टिमले भाग लिएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully