किभुले ६ सिजन इन्टरमा बिताएका छन् र यस क्रममा १ सय ६८ खेल खेलेका छन् ।
क्रिस्टियन किभुले आइतबार इन्टर मिलानका लागि चौथो पल्ट सिरी ए उपाधि जिते । तर प्रशिक्षकका रूपमा भने पहिलो पटक ।
इन्टरले इटालीको माथिल्ला डिजिभनको उपाधि जित्ने त्यति बेला निश्चित भएको थियो, जति बेला उसले पार्मालाई २–० ले हरायो । इन्टरको यो सफलता पछाडिका नायक हुन्, किभु । सबैलाई के थाहा पनि थाहा छ भने इन्टर युरोपकै ठूला क्लबमध्ये एक हो ।
सिजनको सुरुमा इन्टरले यी ४५ वर्षीय प्रशिक्षकलाई नियुक्त गर्दा धेरैले आश्चर्य मानेका थिए । त्यस अगाडि उनको माथिल्लो स्तरमा अनुभव भनेकै केही समयका लागि पार्माको जिम्मेवारी सम्हाल्नु थियो । उनको खास परिचय भने रोमानियाली पूर्वडिफेन्डरका रूपमा थियो । इन्टर भित्र पनि पूर्वखेलाडीका रूपमा उनी लोकप्रिय भने थिए । पछि इन्टरमै उनले केही समयका लागि युवा टिमको जिम्मेवारी पनि लिए ।
सिजनको सुरुमा इन्टरको प्रशिक्षक हुनका लागि पहिलो रोजाई रहेका थिए, सेस फेब्रिगास । सिमोनी इन्जाघीले प्रशिक्षक पद छाडेपछि फेब्रिगासको नाम आउनु स्वभाविक पनि थियो । तर कोमोले उनलाई छाड्नै मानेनन्, यस्तोमा किभुले इन्टरमा मौका पाए । त्यसपछि जे भयो, प्रशिक्षकका रूपमा त्यो धेरैका लागि अपेक्षा भन्दा पनि राम्रो र उच्च प्रदर्शन रहेको छ । उनी इन्टर आउँदा एक प्रकारले शोकमा थियो ।
युरोपेली च्याम्पियन्स लिगको पछिल्लो फाइनलमा इन्टर पेरिस सेन्ट जर्मेन (पीएसजी) को हातबाट नराम्रोसँग पराजित भएको थियो, त्यो पनि ५–० ले । त्यही बेला हल्ला चलिसकेको थियो, इन्जाघी अब साउदी अरेबिया जाँदै छन् । नयाँ सिजनका लागि भनेर नेपोली र एसी मिलानले आफ्नो टिम केही बलियो पनि बनाएको थियो, नयाँ खेलाडी थपेर । तर इन्टर भने खासै फेरिएन, सबै पुरानै अनुहार थिए ।
अनि यही टिमले पछिल्लो सिजनको अन्त्यतिर सफलताका नजिक रहेर पनि धेरै गुमाएको थियो । तर यसैलाई किभुले अहिले च्याम्पियन टिम बनाएका छन् । उनी खासमा इन्टरका लेजेन्ड खेलाडी हुन्, किनभने सन् २०१० मा जोसे मोउरिन्होको नेतृत्वमा इन्टरले सिरी ए, इटालियन कप र युरोपेली च्याम्पियन्स लिग जित्दाको टिमका उनी प्रमुख सदस्य थिए । त्यो ‘ट्रेबल’ उपलब्धि गज्जब नै थियो ।
किभुले ६ सिजन इन्टरमा बिताएका छन् र यस क्रममा १ सय ६८ खेल खेलेका छन् । यस क्रममा उनले लगातार तीन पल्ट सिरी ए उपाधि जिते, सँगै क्लब वर्ल्डकपको उपाधि पनि । उनले आफ्नो खेल जीवनका अधिकांश समय इटालीमै खेले । रोमाबाट खेलिसकेपछि उनी सन् २००७ मा इन्टर गएका थिए । रोमाको अन्तिम सिजनमा उनले इटालियन कपको उपाधि चुमेका थिए ।
त्यति बेला उनका प्रमुख समकालीन खेलाडी थिए, फ्रान्सिस्को टोटी । अनि प्रशिक्षक थिए, लुसियानो स्पालेटी । किभुलाई रोमा ल्याउन प्रशिक्षक अरू कोही होइन्, फाबियो कपेलो थिए । इन्टरका लागि लिग उपाधि जितेपछि उनको प्रतिक्रिया रहेको छ, ‘म जहिले पनि विजेता हुन चाहन्छु । जसले मलाई विश्वास गरेर अहिलेको जिम्मेवारी दिएको छ र स्वीकारेको छ, त्यसपछि आभारी छु ।’
