महिलातर्फ आस्मा विक प्रथम हुन सफल भएकी छन् । उनले २ घण्टा ५८ मिनेटमा निर्धारित दूरी पार गरी ६० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।
What you should know
सिन्धुपाल्चोक — जिल्लाको प्रसिद्ध छैटौं लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेलरेसको उपाधि धावक सञ्जय राईले जितेका छन् । सोमबार सम्पन्न खुलातर्फको प्रतियोगितामा राईले २ घण्टा ११ मिनेटमा २४ दशमलव ५ किलोमिटरको दूरी पार गरेर पहिलो भएका हुन् ।
१ सय २७ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका राईले १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् भने प्रतियोगितामा दुई घण्टा १२ मिनेटमा निर्धारित दूरी पार गरेर धावक करण रावल दोस्रो भए । उनले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् भने तेस्रो रमेश लिम्बुले २ घण्टा १४ मिनेटमा निर्धारित दूरी पार गरेर तेस्रो भएका छन् । उनले ५५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौ र छैटौँ हुन सफल नरेन्द्रसिंह रावल , लोकेन्द्र राई र राजेन्द्र तामाङले क्रमशः पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।
त्यस्तै महिलातर्फ आस्मा विक प्रथम हुन सफल भएकी छन् । उनले २ घण्टा ५८ मिनेटमा निर्धारित दूरी पार गरी ६० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमशः चन्दना राई र भावना शाहीले ३५ र २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
जिल्लाको भोटेकोसी गाँउपालिकातर्फ , जाङ्बो शेर्पा , कृष्ण भण्डारी र निमाछिरिङ तामाङ क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरूले क्रमशः ३०, २० र १५ हजार रुपैयाँ पुरस्कार पाए । भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनमा २०७७ सालदेखि ट्रेलरेसको आयोजना हुँदै आएको छ । यसका लागि भोटेकोसी गाउँपालिकाले ८ लाख बजेट छुट्याएको उपाध्यक्ष दिछेन शेर्पाले बताइन् । 'स्टार्ट प्वाइन्ट ड्राइपोर्ट थियो , जसमा १ सय २७ धावक सहभागी थिए,' उनले भनिन् । ड्राइपोर्टबाट सुरु भएको दौड बन्जी, पाङ्गलाङ्ग, भाल्ढुङ्ग, लिस्तीकोट, गुम्बा, सिल्दुम, धारापानी, गोदाम, दुगुनागढी पुगेर टुंगिएको थियो ।
उपत्यका पृतनापति उपरथी रवीन्द्र खत्री ,भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पासहितले विजेतालाई पुरस्कृत गरेका थिए ।
