कोहलपुर गोल्डकप: कर्णालीमाथि नाइजेरियाली टिमको जित

वैशाख १९ बाट सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा सोमबार रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको हो ।

वैशाख २१, २०८३

रुपा गहतराज

Kohalpur Gold Cup: Nigerian team wins over Karnali

नेपालगन्ज — बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको छ ।

वैशाख १९ बाट सुरु भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको हो ।

वैशाख २० गते कोहलपुर–२ स्थित कोहलपुर फुटबल रंगशालामा दुई टोलीबीच खेल भइरहेका बेला खराब मौषमका कारण ३७ औं मिनेटमा स्थगित भएको थियो । वर्षाले स्थगित खेलमा नाइजेरिया १–० गोलले अघि थियो । २९ औं मिनेटमा जस्ट जोनका जर्सी नम्बर ९ का हम्जात डिमोलाले गोल गरेका थिए । सोमबार बिहान भएको खेलमा ४–२ गोल अन्तरले जस्ट जोनले जित हासिल गरेको हो । 

जस्ट जोनलाई जिताउन दोस्रो हाफको ४७ औं मिनेटमा जर्सी नम्बर १० अब्दुल्लाजीजले गोल गर्दै २–० गोलको अग्रता दिलाए । ४९औं मिनेटमा रोयल फुटबल क्लब कर्णालीका जर्सी नम्बर ७ का सन्दिप देउवाले जवाफी गोल फर्काए । लगत्तै ५२औं मिनेटमा नाइजेरियाका जर्सी नम्बर २९ का ओवालाही अफिजले गोल अन्तर ३–१ मा पुर्‍याए । 

५५औं मिनेटमा गोल गर्दै कर्णालीका जर्सी नम्बर ७७ का विक्रम ओलीले गरेपछि  गोल अन्तर ३–२ बन्यो । खेलको अन्तिमतिर ९० मिनेटमा गोल गर्दै नाइजेरियाका जर्सी नम्बर २७ का ताजुदिन एडीले जित सुनिश्चित गराए । 
खेलको म्यान अफ द म्याच बनेका जस्ट जोन एफसीका हम्जात डिमोलाले नगद् ५ हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याच लुम्बिनी खेलकुद परिषद् सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही र कोहलपुर गोल्डकपका अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रुपमा वितरण गरेका थिए । 

गोल्डकपको पहिलो दिनको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोशिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन् । 

२६ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully